१२ मंसिर २०८१, बुधबार
चालू आर्थिक वर्ष २०७८/७९ को आधा वर्ष पुस मसान्त आज सकिँदैछ । आर्थिक वर्ष अवधि आधा सकिँदा सरकारले कूल बजेटमध्ये ३०.७२ प्रतिशतमात्र खर्च भएको छ । खासगरि, पूर्वाधार विकासका लागि छुट्याइएको पुँजीगत बजेट खर्चमा सरकारले बिजोग देखाएको छ ।
अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले हरेक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने कार्ययोजना अघि सारेका थिए । तर, अर्थमन्त्री आफैंले अघि सारेको लक्ष्य हासिल गर्न विफल भएका छन् । बिहीबार (पुस २९) सम्म अर्थात ६ महिना पूरा हुन एक दिन बाँकी रहँदा सरकारले पुँजीगत खर्च १०.८८ प्रतिशतमात्रै गर्न सकेको छ । अघिल्लो सरकारले गत वर्षको पुस २९ गतेसम्म १४.४ प्रतिशत पुँजीगत खर्च गरेको थियो ।
केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई वर्तमान सरकारले प्रतिस्थापन गरेको थियो । अध्यादेश बजेटको म्याद सकिँदासम्म प्रतिस्थापन बजेट पारित र प्रमाणीकरण नहुँदा सरकारले एक साता लामो खर्च अवरोध (गभर्मेन्ट सटडाउन) भोगेको थियो । १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ बराबरको प्रतिस्थापन बजेट असोज ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइन् ।
अर्थमन्त्री शर्माले चालूतर्फ १० खर्ब तीन अर्ब ७४ करोड सात लाख, पुँजीगततर्फ चार खर्ब २९ अर्ब ६५ करोड नौ लाख र वित्तीय व्यवस्थापतर्फ एक खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेका थिए । कूल विनियोजितमध्ये हालसम्म ३०.७२, चालूतर्फ ४०.२८, पुँजीगततर्फ १०.८८ र वित्तीय व्यवस्थापनतर्फ २६.१२ प्रतिशत खर्च भएको छ ।