१२ मंसिर २०८१, बुधबार
होटल याक एन्ड यतीले पाँचतारे वर्गीकरण खोसेर होटल बन्द गर्ने सरकारको निर्णय फिर्ता लिन माग गरेको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै याक एन्ड यतीले सञ्चालनमा नै नरहेको क्यासिनोको रोयल्टी बापतको रकम देखाएर वर्गीकरण खोस्ने र होटल बन्द गर्ने सरकारको निर्णय पूर्वाग्रहीपूर्ण रहेको भन्दै निर्णय फिर्ता लिन माग गरेको हो ।
निर्णय फिर्ता नभए कानुनी उपचारमा जाने जनाएको छ । आफ्नो नाममा क्यासिनो नै नरहेको कम्पनीका कर्पोरेट सल्लाहकार रमन कर्णले जानकारी दिए । क्यासिनो संचालनलाई जुवा ऐनबाट हटाइ क्यासिनो नियमावली २०७० अन्तर्गत राखिएपछि याक एन्ड यतीले क्यासिनो नै सञ्चालन नगरेको उनको भनाइ छ ।
कर्णले पर्यटन मन्त्रालयले २०७१ वैशाख ५ मा पत्र लेख्दै याक एण्ड यतीमा सञ्चालित क्यासिनो इजाजत–पत्र खारेज गरिएको जानकारी गराएको र क्यासिनो नियमावलीअनुसार याक एण्ड यतीले निर्धारित म्याद भित्र अनुमति पाउन कुनै निवेदन नदिएकाले अनुमति–पत्र खारेज भएको दाबी गरे ।