१२ मंसिर २०८१, बुधबार
पोखरामा आइतवार परेको भीषण असिनापानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको बताइएको छ । पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाका अनुसार बाक्लो असिना पानीका कारण केही जनावर मरेका छन् भने तरकारी तथा फलफूलसहित बालीनालीहरु नष्ट भएका छन् ।
पोखरा वडा नम्बर ९, ११, १३ र १८ मा धेरै क्षति भएको र अन्य वडामा सामान्य क्षति भएको पोखरा महानगरपालिकाका कृषि महाशाखाका प्रमुख मनोहर कडारियाले बताए । उनले असिनाका कारण सो वडाहरुमा तरकारी बाली, नगदे बाली, फलफूल, तोरी, आलु लगायतका बालीमा पूर्ण क्षति पुगेको छ जानकारी दिए ।
असिनाकै कारण पोखरा महानगरपालिका वडा नम्बर ११ मा फलमान गुरुङले सञ्चालन गर्दै आएको उदय अर्गानिक कृषि फार्मका २ वटा भैँसी मरेका छन् । फार्ममा टिनमा असिनाको भार पर्दा सो भाँचिएर थिचेको कारण भैँसी मरेका हुन् । त्यस्तै तरकारीका टनेलहरु भत्किएका छन् । गुरुङका अनुसार फर्ममा २० लाख बराबरको क्षति भएको छ ।
उता, पोखरा वडा ११ मा केहरमान गुरुङले सञ्चालन गर्दै आएका गोर्खाली मनकामना नर्सरीमा पनि ठूलो क्षति पुगेको छ । यसैगरी पोखरा ११ को कृषक मोतीराम भट्टराईको पनि तराकारी खेतीमा ठूलो क्षति भएको छ ।
पोखराको न्यूरोड, चिप्लेढुंगा, फूलबारी, बगर, अमंरसिंह चोक, रानीपौवा भागमा असिनाले सडक नै छोपिएको थियो । सडकमा परेको असिना हटाउन डोजरको समेत प्रयोग गरिएको थियो ।