१० मंसिर २०८१, सोमबार
मकवानपुरको हेटौंडामा स्थापना गरिएको गुणस्तर परीक्षण गर्ने क्यालिब्रेसन टावर पूर्णरूपमा सञ्चालन भएको छ । क्यालिब्रेसन टावर सञ्चालन भई इन्धन बोक्ने ट्यांकरको गुणस्तर परीक्षण गर्ने काम भइरहेको हो ।
पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरबाट इन्धन चुहावट हुने क्रम बढेपछि गुणस्तर तथा नापतौल विभागले हेटौंडामा क्यालिब्रेसन (गुणस्तर परीक्षण) गर्ने भौतिक पूर्वाधारसहितको युनिट खडा गरी परीक्षणको काम सुरु गरेको हो ।
क्यालिब्रेसन गर्ने युनिट तयार गरिसकेकाले पूर्णरूपमा ट्यांकरको गुणस्तर परीक्षण गर्ने काम भइरहेको विभागले जानकारी दिएको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले ट्यांकरमा गुणस्तर परीक्षण गर्न थालिएको बताएका छन् ।
“हाल दैनिक चारदेखि पाँच वटा ट्यांकरमा गुणस्तर परीक्षण गर्ने काम भइरहेको छ,” उनले भने, “आगामी असोजदेखि स्थायी रूपमा कर्मचारी खटाएर गुणस्तर परीक्षण गर्ने काम गर्नेछौं ।” हाल विभिन्न स्थानबाट प्राविधिक झिकाएर गुणस्तर परीक्षण गर्दा धेरै संख्यामा गर्न नसकिएको उनको भनाइ छ । असोजदेखि स्थायीरुपमा कर्मचारी राखेर गुणस्तर परीक्षण गर्दा दैनिक १० वटा ट्यांकरको परीक्षण गर्न सकिने उनले जानकारी दिए ।
५० लाख रुपैयाँ खर्च गरेर विभागले अत्याधुनिक उपकरणसहितको क्यालिब्रेसन युनिट निर्माण गरेको हो । अत्याधुनिक प्रविधिसहितको सुविधा नेपालमा नहुँदा नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले गर्ने क्यालिब्रेसनलाई मान्यता दिँदै आएको छ । भारतले गर्ने क्यालिब्रेसनका कारण समय–समयमा कम परिमाणमा इन्धन हुने समस्या आउने गरेको छ । भारतमा सञ्चालन हुने ट्यांकरमा भारत र नेपालमा सञ्चालन हुने ट्यांकर निगमका डिपोमार्फत क्यालिब्रेसन गरिँदै आएको छ । मुलुकमै परीक्षण हुन थालेपछि व्यवसायीले गर्ने बदमासी कम हुने विभागकोे भनाइ छ । स्वदेशमै गुणस्तर परीक्षण भए पनि इन्धनको तौलमा हुने कमीको समस्या स्वतः नियन्त्रण हुँदै जाने निगम कर्मचारीको भनाइ छ । इन्धन बोक्ने ट्यांकरको प्रत्येक वर्ष क्यालिब्रेसन गर्ने व्यवस्था भए पनि नेपालमा भने कडाइका साथ कार्यान्वयनमा नल्याइँदा इन्धन बिक्रेतासमेत समय समयमा ठगिँदै आएका छन् । निगमसँग अनुमति लिएर हाल १ हजार ८ सय ट्यांकर सञ्चालनमा छन् ।
हेटौंडामा निर्माण गरिएको क्यालिब्रेसन टावरमा दुई हजार लिटरका दुइटा, एक हजार लिटरको एउटा, पाँच सय लिटरको एउटा ट्यांकी छ । अब आधुनिक प्रविधि प्रयोग गरेर ट्यांकरको परिणाम चेकजाँच हुन्छ । क्यालिब्रेसन टावरमा पानी भन्डारण गर्न ट्यांकी निर्माण गर्न भने बाँकी रहेको विभागले जानकारी दिएको छ ।