अर्थमन्त्री खतिवडा र गभर्नर नेपालको एकै स्वर ‘ब्याजदरमा निजी क्षेत्रको दोहोरो भूमिका’

होमल्याण्ड खबर

२०७५ भाद्र १५ गते, शुक्रबार ११:३२ मा प्रकाशित

संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडा र नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाको ब्याजदरलाई लिएर निजी क्षेत्रले नै दोहोरो भूमिका खेलेको बताएका छन् । उनीहरूले बुधबार छुट्टाछुट्टै कार्यक्रममा बोल्दै उद्योगी व्यवसायीको दोहोरो भूमिकाप्रति टिप्पणी गरेका हुन ।

काठमाडौंमा बुधबार आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन)को कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले ब्याजदर उच्च भएका कारण उद्योग व्यवसाय सञ्चालन गर्न गाह्रो भएको बताए । उनले ब्याजदर तोकिदिन सरकारलाई आग्रह समेत गरे ।

जवाफमा अर्थमन्त्री डा. खतिवडाले सरकारले ब्याजदर तोक्न नसक्ने बताए । ‘तपाईंहरू आफ्नो उत्पादनको मूल्यचाहिँ आफैँ तोक्न पाउनुपर्छ भन्ने अनि अर्काको उत्पादनको मूल्य (ब्याजदर) चाहिँ सरकारले तोकिदनुपर्ने ?’ प्रतिप्रश्न गर्दै अर्थमन्त्रीले भने, ‘मूलतः वर्तमान सरकार निजी क्षेत्रमैत्री व्यवसाय प्रवद्र्धनको पक्षमा छ, तर मूल्य र ब्याजदर सरकारले नियन्त्रण गर्दैन ।’

बुधबार नै नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘इको टक’ कार्यक्रममा बोल्ने अधिकांश उद्योगी व्यवसायीले ब्याजदर उच्च भएको गुनासो गरे । महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै ‘बैंकहरूले मनोमानी ढंगले ब्याजदर बढाएको’ आरोप लगाए । उनले अहिलेको उद्योग व्यवसायको मुख्य चुनौतीमा उच्च ब्याजदर रहेको भन्दै त्यसलाई समाधान गर्न नेपाल राष्ट्र बैंकका गभर्नर डा. नेपाललाई आग्रह गरे ।

उद्योगी व्यवसायीको प्रश्न र आरोपको जवाफमा गभर्नर डा. नेपालले ब्याजदरको विषयमा उद्योगी व्यसायीले नै दोहोरो भूमिका खेलेको औँल्याए । ‘बैंक तपाईंहरूकै हो, ऋणी पनि तपाईंहरू नै,’ उनले भने, ‘अनि तपाईंहरू नै ब्याजदर उच्च भयो भन्नुहुन्छ, म के भनूँ ?’ अधिकांश उद्योगी व्यवसायी नै बैंकका सञ्चालकसमेत रहेको भन्दै गभर्नर नेपालले दोहोरो भूमिकामा भएकाले समाधान खोज्नसमेत आग्रह गरे ।