चिनियाँ बजारलाई लक्षित गरि निसानको विधुतीय कारको उत्पादन सुरु

होमल्याण्ड खबर

२०७५ भाद्र १५ गते, शुक्रबार १५:२५ मा प्रकाशित

निसान कम्पनीले चीनको बजारलाई लक्षित गरी पहिलो विधुतीय कार उत्पादनको काम सुरु गरेको छ । सञ्चार माध्यमहरुले दिएको जानकारी अनुसार निसान कम्पनीले लोकप्रिय भर्सनको ब्याट्रिबाट चल्ने विधुतीय कार निर्माण गरेको हो। चिनियाँ निर्माताहरुको सहयोगमा जापानी कम्पनीले आफ्नो विधुतीय कार निर्माणको कार्य सुरु गरेको हो ।

वातावरणको हिसाबमा व्यापक मात्रामा चासो तथा चिन्ता बढिरहेको अवस्थामा विधुतीय सवारीहरुको माग पनि अत्यधिक मात्रामा बढेको छ । विशेषगरी चीन आफ्नो बजारमा वातावरणमैत्री सवारीहरुको विस्तारमा अघि बढिरहेको हो । विश्वको सबैभन्दा ठुलो कारको बजार रहेको चीनमा आफ्नो व्यापार विस्तार गर्ने हेतुका साथमा निसानले आफ्नो विधुतीय कारको योजना ल्याएको हो । चीन र अमेरिका अहिले व्यापारयुद्धमा रहेको समयमा आफ्ना कारहरुको व्यापार विस्तार गर्ने मौकामा निसान देखिएको हो ।

चिनियाँ कम्पनी डोङफेङ मोटर ग्रुपसँगको सहकार्यमा निसानले आफ्नो शून्य उत्सर्जनको विधुतीय कार निर्माणको योजना अघि सारेको हो । आगामी वर्षबाट बजारमा आउने गरी न्यून शुल्कको विधुतीय कार बजारमा ल्याउने तयारीमा निसान रहेको हो। सन् २०२२ सम्मको अवधिमा आफ्ना दुई तिहाइ कारहरु विधुतीय बनाउने तरखरमा निसान रहेको छ । निसानले आफ्ना कारहरुको व्यापारले आगामी दिनमा विश्व बजारमा निकै ठुलो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ ।
चीनले पनि वातावरणीय उत्सर्जन कम गर्नका लागि विधुतीय कारहरुमा विशेष जोड दिँदै आएको छ । उसले ल्याएको प्रदूषण नियन्त्रणको योजनाले विधुतीय कारहरुको व्यापारमा पनि उल्लेख्य सुधार हुँदै गएको देखिएको हो । विश्वका प्रमुख कार निर्माता कम्पनीहरु जेनेरल मोटर्स र फोर्डले पनि विधुतीय कार निर्माणको क्षेत्रमा काम गरिरहेका छन् । एजेन्सी।