८ मंसिर २०८१, शनिबार
आधुनिक बैंकिङ, ग्रामीण बैंकिङ र लघुवित्त सेवा एकै साथ सञ्चालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरू विस्तार गर्ने क्रममा काठमाडौं मनपा–१६, ठमेलमा मंगलबार आफ्नो शाखा कार्यालय विस्तार गरेको छ ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले उक्त शाखा कार्यालयको उद्घाटन गरे । शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि शिवाकोटीले बैंकिङ कारोबारमा सहज र सरल हुनुपर्नेमा जोड दिए । साथै सहज रूपमा खाताखोली वित्तीय साक्षरतालगायतका सेवा पनि प्रदान गर्न आवश्यक रहेको बताए । यस विकास बैंकले यी सबै कामहरू उत्कृष्ट रूपमा गर्दै आएकोमा प्रशंशा गर्दै ठमेल शाखाको प्रगतिको कामना गरे ।
उक्त कार्यक्रममा ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समिर गुरुङ, नेपाल महिला सघंका क्षेत्रीय सभापति सावित्री राजभण्डारीलगायतले बैंकको सफलताको शुभकामना मन्तव्य राखेका थिए ।
बैंकका प्रमुखकार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराए । यस विकास बैंकले लिएको समावेशी वित्तीय पहुँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने बताए । त्यसैगरी यस बैंकको व्यवसाय वृद्धिसँगै भावी दिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रूपमा स्थानीय निकायसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
मुक्तिनाथ विकास बैंकको हालसम्म काठमाडौं उपत्यकाभित्र ठमेललगायत महाराजगन्ज, कमलादी, सीतापाइला, कुलेश्वर, लगनखेल, न्युरोड, नयाँबानेश्वर, चाबहिल, माछापोखरी, कोटेश्वर, जोरपाटी तथा भक्तपुरको कमलविनायक गरी १३ शाखाहरू सञ्चालनमा आइसकेका छन् ।