प्रविधिको टेवामा तलब वृद्धि

होमल्याण्ड खबर

२०७४ कार्तिक २७ गते, सोमबार ०७:०१ मा प्रकाशित

मार्क जुकरबर्गले प्रविधिले रोजगारी सिर्जना नगर्ने तर तलब वृद्धिमा सहयोग गर्ने बताएका छन् । ओक्लाहामाको वायु फार्मको भ्रमण गरेपछि उनले यस्तो बताएका हुन् ।
“आफ्नो ‘इयर अफ ट्राभल’ को अन्तिम भ्रमणमा म ओक्लाहामामा छु,” जुकरबर्गले फेसबुकमा गरेको आफ्नो पोस्टमा लेखेका छन् । उनले योजनामा नपरे पनि सबै राज्यको भ्रमण गर्ने विषयलाई पनि जोड दिएका छन् ।
“मेरो केही बसाइ हुनेछ र शुक्रबार बिहान मैले यो वर्ष के सिकें भन्ने विषयका बारेमा कान्सासमा प्रत्यक्ष छलफल गर्छु,” फेसबुकका सिइओले बताए ।
त्यसपछि उनले कामदारमा पर्ने प्रविधिको प्रभावका बारेमा जोड दिएका थिए । उनी विश्वका शीर्ष पाँच धनीमध्येमा पर्छन् ।
“धेरै मानिसले प्रविधिले रोजगारी सिर्जना गर्छ वा घटाउँछ भन्ने विषयमा जोड दिँदै आएका छन् । मैले यो वर्ष दुवै अवस्था देखेको छु । सुधारिएको प्रविधिले केही उद्योगमा धेरै रोजगारी सिर्जना गरेको छ र अन्य उद्योगमा घटाएको पनि छ । तर, बढ्दो मात्रामा रहेको विकसित प्रविधि सञ्चालन गर्न मानिसका लागि थप तालिमको आवश्यकता पर्छ र उनीहरूले बढी तलब पनि पाउनेछन्,” उनको भनाइ थियो ।
केही विश्वविद्यालयले गरेको अध्ययनले प्रविधिले आगामी दशकमा धेरै पेसाको रोजगारी घटाउने देखाएका छन् ।
जुकरबर्गले तेल र ग्यासको उत्पादनमा संलग्न भएका उद्योगहरूलाई नवीकरणीय ऊर्जामा जानका लागि पनि आग्रह गरेका छन् ।
“मैले डुनकानबाहिरको वायु फार्मको भ्रमण गरे । ओक्लाहामा तेल उत्पादन गर्ने राज्य हो । यसले अझै पनि अन्य कुनै पनि राज्यको तुलनामा उच्च रूपमा प्राकृतिक ग्यासको उत्पादन गर्दै आएको छ, तर प्रविधिले सुधार गर्छ र लागत पनि कम गराउँछ । सँगसँगै नवीकरणीय ऊर्जा पनि आइरहेको छ । ओक्लाहामा टेक्सासपछि देशकै दोस्रो ठूलो वायु ऊर्जा उत्पादक राज्य बन्ने तरखरमा छ,” उनले लेखेका छन् ।