आजदेखि सहुलियत पसल सञ्चालन

होमल्याण्ड खबर

२०७५ आश्विन १२ गते, शुक्रबार ११:४८ मा प्रकाशित

सरकारले चाडपर्वलाई लक्षित गरेर आजदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । चाडपर्वमा उपभोक्तालाई राहत दिन उपत्यकासँगै सातै प्रदेशमा सुपथ पसल सञ्चालन गर्न लागिएको हो । सरकारी संस्थान साल्ट ट्रेडिङ कर्पारेसन र नेपाल खाद्य संस्थानले संयुक्त रूपमा सहुलियत पसल सञ्चालन गर्न लागेका हुन् । सुपथ पसलमा चिनी, नुन, चामल, गेडागुडी, घ्यू र खसीबोकासँगै अन्य खाद्यान्नमा छुट दिइनेछ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले चाडपर्वमा उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालन गर्न लागिएको बताए ।

नेपालीको महान चाडपर्वका रूपमा रहेका दसैं, तिहार र छठलाई लक्षित गरेर सुपथ पसल सञ्चालन गर्न लागिएको उनको भनाइ छ । उनका अनुसार सुपथ पसलमार्फत चिनी प्रतिकेजीमा पाँच रुपैयाँ, नुन प्रतिकेजीमा २ रुपैयाँ, बासमती चामल र सिमी फापरमा प्रतिकेजीमा १० रुपैयाँ र अन्य चामलमा प्रतिकेजीमा पाँच रुपैयाँ छुट दिइनेछ । यस्तै दुग्ध विकास संस्थान (डीडीसी)ले घ्यू प्रतिकेजीमा ५० रुपैयाँ र खसीबोका प्रतिकेजीमा १० रुपैयाँ छुट दिइनेछ । मन्त्रालयका अनुसार उपत्यकामा साल्टट्रेडिङ कर्पाेरेसनको कार्यालय कालीमाटी, कोटेश्वर, टेकु, रामशाहपथ, सतुंगल, भक्तपुरको सूर्यविनायक र ललितपुरको नख्खु र जावलाखेलमा सुपथ पसल सञ्चालन गरिने छ ।

यस्तै खाद्य संस्थानले प्रदेश १ को बिर्तामोड र विराटनगर, प्रदेश २ को लहान, वीरगन्ज र जनकपुर, प्रदेश ३ को अञ्चल कार्यालय काठमाडौं, थापाथली, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को तुलसीपुरमा सुपथ पसल सञ्चालन गर्नेछ । यस्तै कर्णाली प्रदेशको सुर्खेत र प्रदेश ७ को धनगढीमा सुपथ पसल सञ्चालन गरिनेछ । कर्पाेरेसनले मुलुकभर विभिन्न ३६ स्थानबाट आफ्नो डिपोमार्फत सुपथ पसल सञ्चालन गर्ने छ । उपत्यकामा सुपथ पसलका साथै घुम्तीसेवामार्फत सहुलियतदरमा खाद्यान्न विरतण गरिनेछ ।

दसैंमा उपभोक्तालाई खाद्यान्नमा छुट दिनका लागि खाद्य संस्थानलाई २ करोड र साल्टट्रेडिङ कर्पाेरेसनलाई १ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ । चाडपर्वमा वस्तु तथा सेवाको खपत धेरै हुने भएकाले पनि उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालन गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ ।