१० मंसिर २०८१, सोमबार
पिछडिएका र गरिब महिलालाई स्वरोजगार बनाई आत्मनिर्भर बनाउन बेकरी तालिम सञ्चालन गरिएको छ । दक्षिण कोरियाको दातृ निकाय कोइकाको आर्थिक सहयोगमा एकता बहुउद्देश्यीय संस्थाको सहकार्यमा डीडी बेकरीले १८ जना महिलालाई यस्तो प्रशिक्षण दिएको हो । यो प्रशिक्षण ‘जेन्डर लिडरसिप वर्कसप’ को नाममा सञ्चालन हुँदै आएको छ ।
तीन वर्षदेखि सञ्चालन हुँदै आएको यस कार्यक्रमबाट अहिलेसम्म छ वटा विभिन्न ब्याच प्रशिक्षित भएका छन् । तालिम पूरा गरेका अधिकांश महिला बेकरीकै काममा संलग्न रहेको डीडी बेकरीकी लेखा प्रतिनिधि अर्पणा सिलवालले जानकारी दिइन् । यस्तो तालिमपछि आफैँ बेकरी सञ्चालन गर्न चाहने महिलालाई एकता सहकारीले सहुलियतामा ऋणसमेत उपलब्ध गराउँदै आएको छ ।
नियमित किसिमकोभन्दा यस्तो तालिम केही फरक हुने र उद्यमशीलतातर्फ पे्ररित गर्ने सिलवालले बताइन् । खुला प्रतिस्पर्धाबाट छनोट भएका महिलालाई निःशुल्क तालिम उपलब्ध गराइने उनले जानकारी दिइन् ।