आगलागीबाट ३ करोडको क्षति

होमल्याण्ड खबर

२०७५ कार्तिक २६ गते, सोमबार १४:५९ मा प्रकाशित

सेलरोटी पकाउने क्रममा दिक्तेल बजारस्थित रत्नपार्कमा लागेको आगलागीमा झण्डै तीन करोडको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–१ स्थित रत्नपार्कमा बिहीबार लागेको आगलागीमा २ करोड ९० लाख ९२ हजारको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
भाइटीकाका लागि राति अबेरसम्म सेलरोटी पकाएर सुतेका स्थानीय अम्बिका बुढाथोकीको घरबाट लागेको आगोले कृष्णकुमार श्रेष्ठको घरसमेत खरानी भएको थियो । आगोले दुई घरमा पूर्णरुपमा र दुई घरमा आंशिक रुपमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक राजकुमार केसीले जानकारी दिए ।

कृष्ण श्रेष्ठको घर, लत्ताकपडा, सुनचाँदी, नगद गरी करिब एक करोड २५ लाख, अम्बिका बुढाथोकी र अस्मिता बुढाथोकीको संयुक्त नाममा रहेको घर, सुनचाँदी लत्ताकपडा खाद्यान्न गरी करिब एक करोड २४ लाख, बुढाथोकीको घरमा डेरा गरी बस्ने सावित्रा मावि दिक्तेलका शिक्षक अव्दुल अहिम राईनको करिब करिब ६२ हजार, उनकै घरमा कपडा पसल र होटल गरेर बसेका रमेश खत्रीको ३५ लाख ३० हजार र आंशिक क्षति भएका नविन गुरुङ र राजु श्रेष्ठको करिब ६ लाख क्षति भएको केसीको भनाइ छ ।

बिहान करिब ३ बजेबाट लागेको आगो तीन घण्टापछि नियन्त्रणमा आएको थियो । बजारवासी, स्थानीय, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीलगायतले आगो नियन्त्रणमा लिने प्रयास गरेपनि आगो नियन्त्रणभन्दा बाहिर गएपछि स्काभेटरको प्रयोग गरेर घर भत्काएपछि आगो नियन्त्रणमा आएको थियो ।
तत्काल नियन्त्रण गर्ने विकल्पको रुपमा रहेको दमकल यो नगरपालिका छैन । तत्कालिन दिक्तेल नगरपालिका हुँदा खरिद गरिएको दमकल बिग्रिएर थन्किएको छ । बजारवासीले नगरपालिकालाई दैवि प्रकोप हुन सक्ने भनेर पटक–पटक अनुरोध गरेपनि नगरपालिकाले दमकलको व्यवस्था गर्न चासो नदेखाउदा वर्षेनि ठूलो क्षति व्यहोर्दै आउनु परेको छ ।

करिब २ वर्षअघि विद्युत् सट भएर सोहि स्थानमा आगलागी हुँदा तीन घर जलेर पूर्ण रुपमा नष्ट भएका थिए ।

यसैबीच, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, जिल्ला दैवि प्रकोप उद्धार समिति, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा, खोटाङ उद्योग वाणिज्य संघले आगलागीबाट विस्थापित दुई परिवारलाई राहत रकम प्रदान गरेका छन् । पूर्णरुपमा घर जलेका विस्थापितलाई नगरपालिकाले ५०–५० हजार, जिल्ला प्रशासन कार्यालयले १५–१५ हजार, उद्योग वाणिज्य संघले १०–१० हजार र रेडक्रसले कम्मल १० थान, चार थान पाल लत्ता कपडा, भाँडाकुँडा प्रदान गरेको छ ।