मोबाइल इन्टरनेटमा एनसेल अगाडि

होमल्याण्ड खबर

२०७५ कार्तिक २९ गते, बिहीबार १७:१५ मा प्रकाशित

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सेवाको गुणस्तर सम्बन्धि गरेको एक अध्ययनले एनसेलले प्रदान गर्ने मोबाइल इन्टरनेट सेवाको गुणस्तर तुलनात्मक रुपमा राम्रो रहेको जनाएको छ । गत असोजमा गरिएको सो अध्ययनअनुसार एनसेलको इन्टरनेटबाट ७ दशमलब ३६ सेकेन्डमा वेबपेज लोड हुन्छ ।

अन्य इन्टरनेट सेवाको तुलनामा एनसेल अघि रहेको जनाइएको छ । प्राधिकरणका अनुसार विभिन्न पाँचवटा वेबपेजलाई आधार मानी यो परीक्षण गरिएको थियो । यसरी नेपालमा प्राधिकरणले मोबाइल इन्टरनेटको परीक्षण गरिएको यो पहिलो पटक हो । इन्टरनेटबाट फाइल डाउनलोड गर्दा डाटाको बहावमा पनि एनसेल अघि रहेको पाइएकोे छ ।

एनसेलको इन्टरनेटमा फाइल डाउनलोड गर्दा डाटा बहाव ३६ एमबीपीएस देखिएको छ भने नेपाल टेलिकममा यो दर करिब १८ एमबीबीएससम्म मात्रै रहेको प्राधिकरणले सार्जजनिक गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।फाइल अपलोड पनि अन्य सेवाको तुलनामा एनसेल अघि रहेको जनाइएको छ ।

प्राधिकरणले पछिल्लो पटक सार्वजनिक गरेको मासिक एमआईएस रिपोर्ट अनुसार, नेपाल टेलिकमका ६९ लाख ७३ हजार, एनसेलका ६१ लाख र स्मार्टका ४८ हजार ग्राहकले मोबाइल ब्रोडव्याण्ड इन्टरनेट चलाउछन् । मोबाइल ब्रोडव्याडमा टेलिकमले थ्रिजी र फोरजी बाहेक सिडिएमए प्रविधीमा मोबाइल इन्टरनेट सेवा प्रदान गर्दछ भने एनसेलले थ्रिजी र फोरजीमा प्रविधीमा आधारित मोबाइल इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । स्मार्टले फोरजी प्रविधीको मोबाइल ब्रोडव्याण्ड डाटा सेवा प्रदान गर्दै आएको छ ।