कृषि क्षेत्रमा चीनले सघाउने

होमल्याण्ड खबर

२०७५ मंसिर ६ गते, बिहीबार १३:५४ मा प्रकाशित

जलवायु अनुकूलन उत्पादनलाई बढावा दिँदै प्राविधिक सहयोग गर्न चीन सरकारको विकास अनुसन्धान केन्द्र राज्य परिषद्को प्रतिनिधिमण्डल किराञ्चोक आएको छ । किराञ्चोक पुगेका चीनमा अर्थशास्त्रमा विद्यावारिधी गर्दै गरेका दामोदर भुसालसहित त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू र चिनियाँ प्रतिनिधिहरूलाई गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले स्वागत गर्दै किसानलाई स्थानीय सरकारले पुर्याएका आर्थिक तथा प्राविधिक सेवाका बारेमा जानकारी दिएका थिए । परिषद्का जनरल डेपुटी डाईरेक्टर डाक्टर योङ शेङ झाङले स्थानीय कृषक प्रतिनिधिहरूसँग अन्तरक्रिया गरेका छन् ।

“नेपाल र चीन असल छिमेकी हौं, हाम्रो मित्रतालाई वीचमा हिमालले छेकेको थियो, अब हिमाललाई पार गर्न हवाई मार्ग र स्थल मार्गसमेत निर्माण भइसकेकाले हामी नेपाल किसानलाई सहयोग गर्न आतुर छौं,” डा. झाङले भने, “३० वर्षअघिको चीनको अवस्था पनि नेपालको जस्तै भए पनि अहिले ३० गुणाले विकास भएको छ ।” उनले चीनमा भएको विकास गति सिकाउन आफूहरू आएकोसमेत बताए । डा. झाङले नेपाली किसानले चाहे जस्तै प्रविधि, शीप र ज्ञान उपलब्ध गराउन आफूहरू तयार रहेको बताए ।