८ मंसिर २०८१, शनिबार
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण भएको केबलकार व्यावसायिक रूपमा सञ्चालनमा आएको छ। परीक्षणका रुपमा बैशाख १ गतेदेखि आंशिक रुपमा सञ्चालनमा आएको बन्दीपुर केबलकार बिहीबार देखि व्यावसायिक रूपमा सञ्चालनमा आएको हो।
व्यावसायिक रुपमा सञ्चालनमा आएपछि यहाँ आउने पर्यटकले केबलकार मार्फत सहज रुपमा यात्रा गर्ने भएका हुन् । अन्तराष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र (टियुभी सर्टिफिकेट) प्राप्त गरेपछि व्यावसायिक रुपमा बिहीबारदेखि सञ्चालनमा ल्याइएको कार्यकारी अधिकृत किरण पोख्रेलले बताए। उनले बिहीबार १ हजार ५८१ यात्रुले केबलकारमा यात्रा गरेको बताएका छन्।
कम्पनीलाई ‘कमर्सियल अपरेसन टियुभी प्रमाणपत्र’ प्राप्त भएसँगै अब केबलकार व्यावसायिक रूपमा सञ्चालन गर्न लागिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए। केबलकारका ३१ डब्बामध्ये २१ वटाले यात्रु बोक्नेछन्। एक घन्टामा ५ सय जना यात्रु बोक्न सक्ने क्षमता रहेको यो केबलकार विभिन्न सिफ्ट गरेर दैनिक बिहान ६ बजेदेखि राति ११ बजेसम्म चल्नेछ।
बन्दीपुर गाउँपालिका–४ को डुम्रेबजार नजिकै केबलकारचोकबाट मन्दिरसम्म एक हजार सात सय मिटर दूरी ७ मिनेटमा पार गर्न सकिने कम्पनीले जनाएको छ ।
केबलकारले साँझ ५ बजेदेखि राति ११ बजेसम्म ६ वटा डब्बामा ‘रेस्ट्रो क्याबिन’ चलाउने छ। रेस्टुरेन्टसँगै आराम कक्ष समेत सञ्चालन गरेर नयाँ स्वाद पस्किने तयारी रहेको शर्माले बताए। यो सेवा भने हाल सुरू भइसकेको छैन।