बुढीगण्डकी जलविद्युत आयोजना नेपालीकै लगानीमा बनाउनुपर्छ: महामन्त्री विश्वप्रकाश

होमल्याण्ड खबर

२०८१ असार ३ गते, आईतवार १३:४४ मा प्रकाशित

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बुढीगण्डकी जलविद्युत आयोजना नेपालीहरुकै लगानीमा बन्नुपर्ने प्रस्ताव गरेका छन्।

स्वदेशमा तथा विदेशमा रहेका नेपालीहरुको लगानीमा सो आयोजना सम्पन्न गर्ने काम सरकारले गर्नुपर्ने उनले बताएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाजिको छलफलमा भाग लिँदै महामन्त्री शर्माले मेरो सहभागितामा नेपाल बन्दैछ भन्ने कुराको सन्देश दिन पनि नेपाल भित्र र बाहिर रहेका नेपालीहरुको लगानीमा सो आयोजना सम्पन्न गर्न उपयुक्त हुने धारणा पनि राखे।्उ

उनले नेपाल बन्नसक्छ र यो उज्यालो दिशातर्फ अगाडि बढ्दैछ भन्ने सन्देश दिन पनि सरकारले १२ सय मेघावाट क्षमताको सो आयोजनाको निर्माण कार्यमा ढिलाई गर्न नहुने बताए।

उहाँले वैदेशिक ऋणको पासोमा पर्नबाट जोगिन पनि सरकारले वैदेशिक ऋण लिएर यस्ता ठूला आयोजनाहरु अघि बढ्न नहुने बताउनु भयो । महामन्त्री शर्माले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दाका ऋण तिर्न नसकिने अवस्था विद्यमान रहेको पनि स्मरण गराउनु भयो ।

उनले भने, ‘म आज बुढिगण्डकी परियोजनाको सन्दर्भमा अन्तिममा यति आग्रह गर्न चाहन्छु । यो परियोजना निर्माण गर्ने सन्दर्भमा हामीले कदम चाल्दै गर्दा सत्ता, प्रतिपक्ष हामी सबै एक छौं । सबै आग्रह पूर्वाग्रहभन्दा माथि उठेर स्वदेश र विदेशमा भएका समस्त नेपालीलाई गाँसी राखेर यो परियोजना निर्माण गरेर नेपाल बन्नसक्छ, बन्दै छ । र मेरो सहभागितामा बन्दैछ । नेपाल बन्ने एउटा उज्यालो दिशातिर जाँदैछ भन्ने सन्देश दिनका लागि सरकार सफल बन्नुपर्छ । हामी माझ चर्चामा रहेको परियोजना हो बुढिगण्डकी । अघिल्ला बजेटहरुमा पनि हामी बुढी गण्डकी बनाउने लेख्दै आयौं । बनाउने त बनाउने । तर, कुन पैसाले बनाउने ? एउटा विकल्पको रुपमा हामीले सोच्यौं कि विदेशीको पैसाले बनाउने । केवल विद्युत उत्पादन मात्रै हो भने त विदेशीलाई दिँदा केही फरक पर्दैन ।’

उनले यो बहुउद्देश्यीय परियोजना १२ सय मेघावाटको भएको तथा हजारौं हेक्टरमा सिंचाइ दिने तथा लाखौंले पिउने पानी भएकाले नेपाली लगानीमा बनाउनुपर्ने बताए।

‘सहुलियत ऋण भेटिए ठिकै हो । तर कतिपय देशहरु ऋणको पासोमा परिरहेको हामीले देखेका छौं । हामीले ऋणले बनाएका पोखरा र भैरहवाको एयरपोर्टले हामीलाई झस्काएका छन् । अर्को विकल्प उसो भए हामी आफैँ बनाउने । अलि अघिल्लो सरकारले निर्ण गर्‍यो–यो आयोजना आफ्नै लगानीमा बनाउने । हामी सत्ता, प्रतिपक्ष सबै दल त्यसमा सहमत छौ । अव प्रश्न छ–१८ खर्व बजेटमा ४ खर्व बजेट कसरी हाल्ने ? पूर्व–पश्चिम रेलमार्ग बनाउने योजना बन्यो । माटो भर्ने, कंक्रिट भर्ने, रेलको डब्बा ल्याउने यी सबै कुरा छोडौं । हामीले माटो र बाटोका लागि मआब्जा दिन सकेको अवस्था छैन । दुईटा अन्तर्राष्ट्रिय विमानस्थलहरु हामीले बनायौं । त्यसलाई ऋण तीर्नका लागि पैसा छैन । कूलेखानीबाट भिमफेदीसम्म सुरुङ मार्ग बनाउनका लागि अध्ययन गरियो । बनाउनका लागि पैसा छैन । ’