सैन्य अभ्यासको जवाफ दिने उत्तर कोरियाको चेतावनी

होमल्याण्ड खबर

२०७४ मंसिर २० गते, बुधबार ०५:३४ मा प्रकाशित

एजेन्सी

दक्षिण कोरियाको राजधानी सोलमा सोमबारदेखि सुरु भएको अमेरिका र दक्षिण कोरियाको संयुक्त हवाई सैन्य अभ्यासको उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको छ । यी दुई देशको अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई सैन्य अभ्यास सोलमा सोमबार सुरु भएको छ । यो अभ्यास पाँच दिनसम्म चल्ने पनि बताइएको छ ।
उत्तर कोरियाले सो सैन्य अभ्यासको कडा शब्दमा विरोध गर्दै आफ्ना विरुद्ध लक्षित उक्त सैन्य अभ्यासको आफूहरूले जवाफ दिने चेतावनी पनि दिएको उत्तर कोरियाको सरकारी समाचार समिति, केसीएनएबाट प्राप्त समाचारमा जनाइएको छ । 
समाचारमा जनाइएअनुसार सैन्य अभ्यास कोरियाली प्रायःद्वीप क्षेत्रमा देखिएको अस्थिरताको नियन्त्रण गरी दक्षिण कोरिया र अमेरिकाको सम्बन्ध विस्तारका लागि गरिएको बताइए पनि धेरैले यसलाई यी दुई देशले उत्तरका विरुद्धमा उसको आणविक परीक्षणको जवाफका रूपमा हेरेका छन् ।
यस हवाई सैन्य अभ्यासको कडा शब्दमा विरोध गर्दै उत्तर कोरियाले आफ्ना विरुद्ध उत्तेजना फैलाउने र उत्तर कोरियामाथि आक्रमणका लागि बल जाँच्ने भित्री ध्येयका साथ यो सैन्य अभ्यास गरेको बताएको छ । यस अभ्यासमा अमेरिका र दक्षिण कोरियाका गरी करिब २ सय ३० युद्धक विमानको प्रयोग गरिएको छ । यसलाई स्थलमार्गबाट पनि निगरानी गरिएको छ, जहाँ हजारौँ स्थल सेना पनि रहेका छन् । दसौँ हजारको संख्यामा दक्षिण कोरियाली सेना सहभागी भइरहेको सो सैन्य अभ्यासलाई आफ्ना विरुद्धको शक्ति प्रदर्शनका रूपमा उत्तर कोरियाले लिएको बताइएको छ ।

 

उत्तर कोरियाले हालैका दिनमा जारी राखेको आणविक परीक्षणका कारण उत्तर कोरिया र दक्षिणबीच व्यापक मात्रामा विवाद जारी रहेका बेला सोमबारबाट सो सैनिक अभ्यास सुरु भएको हो । केही दिनअघि मात्र उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली क्षेप्यास्त्र हानेको थियो । उक्त क्षेप्यास्त्रका विरुद्धमा दक्षिण कोरिया र अमेरिकाले

यो अभ्यास सुुरु गरेका बताइएको छ । केही रक्षा अधिकारीहरूले दिएको अनौपचारिक जानकारीअनुसार यस हवाई सैन्य अभ्यासमा शक्तिशाली युद्धक विमानहरूको पनि प्रयोग भएको छ ।

ती विमान दक्षिण कोरियाको आकाशमा र उत्तर कोरियाको सीमा क्षेत्रमा पनि उडाइएको जनाइएको छ । उत्तर कोरियाले गत वर्ष सुरु गरेको यो पछिल्लो आणविक परीक्षणको शृंखला अझै रोकिएको छैन । यस्तो शृंखलाका कारण पछिल्ला दिनहरूमा संयुक्त राष्ट्रसंघ, अमेरिका र दक्षिण कोरियालाई पनि झस्काएको बताइएको छ । तर उत्तरले भने यस संयुक्त सैन्य अभ्यासले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको भन्दै अभ्यास रोक्न भनेको छ । उत्तरले यसलाई सार्वभौमसत्तामाथिको हमलाका रूपमा लिएको जनाएको छ ।