एक लाखबढी ऋणी कालोसूचीमा

होमल्याण्ड खबर

२०८१ फाल्गुन २८ गते, बुधबार १०:४६ मा प्रकाशित

 बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण नतिर्नेहरूको सङ्ख्या वर्षेनी बढ्दै गएको छ । वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसक्दा एक लाखभन्दा बढी ऋणी कालोसूचीमा परेका हुन् ।

कर्जा सूचना केन्द्रका अनुसार पछिल्लो साढे छ वर्षमा एक लाख ५ हजार ६ सय ऋणी कालोसूचीमा परेका हुन् । वि.सं २०७५ सालदेखि २०८१ को फागुन २५ गतेसम्म उक्त सङ्ख्यामा ऋणीहरूले ऋण नतिरेका हुन् ।

केन्द्रको तथ्यांक हेर्दा २०७५ यता कालोसूचीमा पर्ने ऋणीहरूको सङ्ख्या अत्यधिक बढेको देखिन्छ । २०७५ सालमा एक हजार तीन सय ऋणी कालोसूचीमा परेका थिए । २०७६ मा तीन हजार रहेको त्यस्तो सङ्ख्या २०७७ मा तीन हजार २ सय नाघ्यो ।

बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण तिर्न नसकेर २०७८ सालमा ७ हजार ९ सय ऋणी कालोसूचीमा परे । यस्तो सङ्ख्या २०७९ मा झनै भयावह भयो । यो वर्ष कालोसूचीमा पर्ने ऋणीको सङ्ख्या १९ हजार भन्दा बढी पुग्यो ।

वि.सं २०८० मा ३३ हजार २ सय ऋणी कालोसूचीमा परे । २०८१ सालमा यो सङ्ख्या झन् बढ्ने देखिन्छ । २०८१ को वैशाखदेखि फागुन २५ गतेसम्म ३७ हजार ५ सय ऋणी कालोसूचीमा परेका छन् ।