पुस ६ गतेदेखि हुने विराट ट्रेड एक्स्पोको तयारी तीव्र

होमल्याण्ड खबर

२०७५ मंसिर २७ गते, बिहीबार १५:१६ मा प्रकाशित

विराट व्यापार संघको आयोजनामा आगामी पुस ६ गतेदेखि हुने विराट ट्रेड एक्स्पोको तयारी तीव्र पारिएको छ । विराटनगरस्थित विराट अस्पताल नजिकैको खाली जमिनमा स्टल निर्माणको काम धमाधम भइरहेको छ ।

यसअघि गत वर्ष उद्योग संगठन मोरङले पनि सोही स्थानमा औधोगिक व्यापार मेला आयोजना गरेको थियो । मेलाका लागि विराटनगरमा स्थान अभाव देखिएको छ । विगतमा सहिद रंगशालामा यस्ता मेला हुने गरेका थिए । तर, पछिल्लो समय सहिद रंगशालामा मेला आयोजना गर्न रोक लगाइएको छ । औधोगिक र कृषि उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको मेलाको तयारी ७० प्रतिशत सकिएको संघका अध्यक्ष पवनकुमार सारडाले जानकारी दिए । “मेलाको तयारी तीव्र रुपमा भइरहेको छ,” उनले थपे, “हाल स्टल बुकिङसँगै निर्माण भइरहेको छ ।”

मेलामा स्थानीय उत्पादनलाई बढी प्राथमिकता दिइनेछ । १२ गतेसम्म सञ्चालन हुने मेलामा भारत, पाकिस्तान, बंगलादेश, भुटानलगायत मुलुकको पनि सहभागिता रहने उनले बताए । एक्स्पो आयोजक समितिका संयोजक अनुपम राठीका अनुसार एक्स्पोमा २ सय ७५ स्टल रहनेछ । ३ लाख दर्शकले प्रत्यक्ष अवलोकन गर्ने मेलामा ३० करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ । एक्स्पोमा १ करोडभन्दा बढी खर्च हुने उनले बताए ।

मेलामा अटोमोबाइल्स, बैंक तथा वित्तीय संस्था, निर्माण सामग्री, इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि, अन्तर्रा्ष्ट्रिय औद्योगिक उपकरण, खाद्यन्न, लत्ताकपडा, कृषि तथा जडिबुटीलगायतका स्टल रहने संयोजक राठीले बताए । “एक्स्पोले आर्थिक कारोबार वृद्धिसँगै उत्पादनको बजारीकरण गर्नेछ,” राठीले भने, “साथै उपभोक्ताले छानीछानी वस्तुको खरिद गर्न सक्नेछन् ।” एक्स्पोमा बालबालिका खेल्ने स्थान र हरेक दिन मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमसमेत समावेश हुनेछ ।