गुणस्तरहीन दूध बेचे पाँच वर्षसम्म जेल

होमल्याण्ड खबर

२०७५ पुष ९ गते, सोमबार १२:१८ मा प्रकाशित

मानव स्वास्थ्यमा गम्भीर असर पार्ने गरी न्यून गुणस्तरको दूध बेचे पाँच वर्ष जेल सजाय र ५० हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ। सरकारले दूध उत्पादक तथा बिक्रेतालाई जवाफदेही बनाउँदै उपभोक्तालाई स्वच्छ र स्वस्थ्य दूध उपलब्ध गराउने ध्येयले दूध मापदण्ड कार्यान्वनयमा ल्याएको छ। सबैले उपभोग गर्ने दूधको स्वच्छता र गुणस्तर कायम गर्न मापदण्ड तोकिएको हो।

खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले दूधको नयाँ मापदण्ड तयार गर्दै ‘दुग्ध पदार्थमा स्वच्छता एवं गुणस्तरसम्बन्धी निर्देशिका, २०७५’ कार्यान्वनयमा ल्याएको छ। मापदण्ड उल्लंघन गरी दूध बेचे निर्देशिका र खाद्य ऐनअनुसार सजाय हुनेछ।

गुणस्तरहीन र दूषित दूध बिक्री गर्नेलाई पाँच वर्ष कैद र ५० हजार जरिवाना वा दुवै सजाय हुने विभागका महानिर्देशक सञ्जिवकुमार कर्णले बताए। निर्देशिकाको मापदण्ड पूरा नगरे खाद्य ऐनअनुसार कारबाही हुनेछ। विभागले पहिलोपटक निर्देशिका ल्याएको हो। ‘निर्देशिका कार्यान्वयनमा आए पनि ६ महिनासम्म अभिमुखीकरण र सचेतनाका लागि समय दिएका छौं,’ कर्णले भने, ‘६ महिनामा पनि सुधार नआए निर्देशिकाअनुसार हदैसम्मको कार्बाही हुन्छ।’ विभागले मुलुकका प्रमुख सहरका दुग्ध डेरीलाई अभिमुखीकरण गर्ने पनि जनाएको छ।