राष्ट्रिय लिग विजेताले ५० लाख पुरस्कार पाउने

होमल्याण्ड खबर

२०८२ मंसिर २६ गते, बिहीबार १६:४२ मा प्रकाशित

पुष अन्तिम साता सुरु हुने राष्ट्रिय लिगको विजेता क्लबले ५० लाख रुपैयाँ पाउने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ पाउने जानकारी दिएको हो। लिगको उपविजेताले २५ लाख र तेस्रो स्थानमा रहने क्लबले १५ लाख रुपैयाँ पाउनेछन्।

त्यस्तै, एन्फा र राष्ट्रिय लिगका लागि दर्ता भएका १७ क्लबबीच बिहीबार भएको छलफलले सहभागी क्लबलाई तयारी खर्चस्वरूप १५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ।

हेटौडामा सम्पन्न भएको एन्फा प्रेसिडेन्ट लिगबाट राष्ट्रिय लिगमा छनोट भएका काठमाडौँ उपत्यकाबाहिरका क्लबहरूलाई यातायात खर्च स्वरूप दुई लाख रुपैयाँ र काठमाडौँ उपत्यका क्लबलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको हो।

राष्ट्रिय लिग काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा पुस २५ गतेबाट सुरु हुनेछ। लिगका लागि क्लबहरूले पुस १८ गतेभित्र खेलाडी दर्ता गरि सक्नुपर्नेछ। प्रतियोगिताको खेल तालिका पुस २० गते सार्वजनिक गर्ने निर्णय भएको एन्फाले जनाएको छ।