२२ फाल्गुन २०८२, शुक्रबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘बोर्ड अफ पिस’को पहिलो बैठकमा गाजा पुनर्निर्माणका लागि सदस्य राष्ट्रहरूले ७ अर्ब डलर प्रतिबद्धता जनाएको बताएका छन् । बैठकलाई सम्बोधन गर्दै ट्रम्पले पाँच देशले प्यालेस्टिनी क्षेत्रमा अन्तर्राष्ट्रिय स्थिरता बल पठाउन सहमति जनाएको जानकारी दिए ।
ट्रम्पका अनुसार अमेरिका स्वयंले पनि बोर्ड अफ पिसका लागि १० अर्ब डलर योगदान गर्नेछ । तर उक्त रकम के प्रयोजनमा प्रयोग हुनेछ भन्ने स्पष्ट गरिएको छैन । कजाकिस्तान, अजरबैजान, संयुक्त अरब इमिरेट्स, मोरक्को, बहराइन, कतार, साउदी अरेबिया, उज्बेकिस्तान र कुवेतले गाजा पुनर्निर्माणका लागि प्रारम्भिक किस्ताका रूपमा रकम जुटाएका हुन् ।


‘हरेक डलर स्थिरता र नयाँ समन्वित क्षेत्र निर्माणमा लगानी हो,’ ट्रम्पले भने । तर प्रतिबद्ध रकम गाजा पुनर्निर्माणका लागि अनुमानित ७० अर्ब डलर आवश्यकताभन्दा निकै कम छ । दुई वर्षभन्दा बढी समयदेखि जारी इजरायल–हमास युद्धले गाजामा ठुलो भौतिक क्षति पुर्याएको छ ।
यसैबिच, इन्डोनेसिया, मोरक्को, कजाकिस्तान, कोसोभो र अल्बानियाले प्रस्तावित स्थिरता बलमा सेना पठाउने प्रतिबद्धता जनाएका छन् । इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले आफ्नो देशले शान्ति प्रयास सफल बनाउन अधिकतम ८ हजार सैनिक पठाउने घोषणा गरेका थिए ।
अमेरिकी जनरलको नेतृत्व र इन्डोनेसियाली उपनेतृत्वमा रहने उक्त बल इजरायल नियन्त्रणमा रहेको रफाहबाट सुरु हुने बताइएको छ । योजनाअनुसार १२ हजार प्रहरी तालिम दिने र कुल २० हजार सैनिक तैनाथ गर्ने लक्ष्य छ । इजिप्ट र जोर्डनले प्रहरी तालिममा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
तर हमासले भने हतियार त्याग्ने विषयमा स्पष्ट सहमति जनाएको छैन । हमास प्रवक्ता हाजेम कासेमले अन्तर्राष्ट्रिय बलले युद्धविराम निगरानी गर्नुपर्ने र इजरायली आक्रमण रोक्नुपर्ने बताएका छन् ।