११ मंसिर २०८१, मंगलवार
नेपाल गुणस्तर तथा नापतौल विभागले ट्याक्सीमा मिटर भाडा समायोजनको काम अगाडि बढाएको छ ।
विभागले गत असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै गर्दै मंसिर पहिलो हप्तादेखि ट्याक्सीमा भाडा समायोजनको काम अगाडि बढाएको हो ।
हालसम्म दुई हजार दुई सय ट्याक्सीमा नयाँ भाडा समायोजन गरिसकिएको र दैनिक ८० देखि १०० ट्याक्सीको भाडा समायोजन गर्दै आएको विभागले जनाएको छ ।
पहिला ट्याक्सी चलाउन थालेपछि एक किलोमिटर गुड्दा रु ५० मिटरमा उठ्ने गरेकामा नयाँ भाडा समायोजन गरेपछि एक मिटरमा रु ५३ उठ्छ ।
यसअघि विभागले उपत्यकामा गुड्ने सबै ट्याक्सीमा प्रिन्टर मेसिनसमेत जडान गरिसकेको छ ।
ट्याक्सीमा भाडा समायोजन गरेसँगै ट्याक्सी व्यवसायीलाई थोरै भए पनि राहत हुने नेपाल मिटर ट्याक्सी व्यवसायी संघले जनाएको छ ।
यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौं उपत्यकामा मात्र १० हजार ६०० मिटर ट्याक्सी सञ्चालनमा छन् ।