मादुरोको कानुनी शुल्क तिर्न भेनेजुएलालाई अमेरिकाको अनुमति

होमल्याण्ड खबर

२०८३ बैशाख १३ गते, आईतवार १७:०४ मा प्रकाशित

अमेरिकाले भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरोको कानुनी प्रतिरक्षाको शुल्क तिर्न भेनेजुएला सरकारलाई अनुमति दिने भएको छ ।

उक्त शुल्क तिर्ने प्रयोजनका लागि प्रतिबन्ध खुकुलो बनाउन अमेरिका सहमत भएको हो । मादुरो हाल लागुऔषध तस्करीको आरोपमा अमेरिकाको न्युयोर्कको संघीय अदालतमा मुद्दा खेपिरहेका छन्।

मादुरोका वकिल, ब्यारी पोल्याकले मादुरोलाई आफ्नो रोजाइको कानुनी सल्लाहकार पाउने अधिकारबाट वञ्चित गरिएको भन्दै मुद्दा खारेजीको माग गरेका थिए ।

म्यानहट्टनस्थित अमेरिकी जिल्ला न्यायाधीश एल्भिन हेलस्टाइनले पनि प्रतिबन्धका कारण कानुनी शुल्क तिर्न नसक्नुलाई संवैधानिक अधिकारको उल्लंघनका रूपमा प्रश्न उठाएका थिए ।

अमेरिकी न्याय मन्त्रालयका अधिकारीहरूले पनि  भेनेजुएला सरकारले मादुरोको प्रतिरक्षा शुल्क तिर्न सक्ने गरी प्रतिबन्धहरू परिमार्जन गर्न सहमति जनाएका छन् । यससँगै मुद्दा खारेजीको माग अब अर्थहीन भएको उनीहरूले बताएका छन्।

यसैबर्षको जनवरीमा अमेरिकी फौजले भेनेजुएलाबाट मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएको थियो । कानुन विज्ञहरूले यसलाई अन्तर्राष्ट्रिय कानुनको खुला उल्लंघन र अपहरण भनेका छन्।

अन्तर्राष्ट्रिय कानुन अनुसार बहालवाला राष्ट्राध्यक्षहरूलाई विदेशी अदालतबाट उन्मुक्ति प्राप्त हुन्छ । तर, ट्रम्प प्रशासनले मादुरोलाई भेनेजुएलाको वैधानिक नेताको रूपमा मान्यता नदिएको तर्क गर्दै यो सैन्य अपरेसनलाई वैध ठहर्‍याएको थियो ।

मादुरोले आफूमाथि लगाइएका आरोपहरूलाई झूटो र भेनेजुएलाको प्राकृतिक स्रोत माथि कब्जा जमाउने अमेरिकी बहाना भएको बताएका छन्।

यो मुद्दाले अमेरिकी न्याय प्रणालीमा विदेशी नागरिकका संवैधानिक अधिकार र कार्यपालिकाको परराष्ट्र नीतिबीचको द्वन्द्वलाई उजागर गरेको छ ।