२३ बैशाख २०८३, बुधबार
व्यवसायी शेखर गोल्छा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गर्न अस्वीकार गरेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गोल्छालाई रिहा गरेको हो ।
गोल्छा यसअघि सर्वोच्च अदालतको आदेशअनुसार धितोपत्र सम्बन्धी मुद्दामा ५ लाख रुपियाँ धरौटी बुझाएर रिहा भएका थिए। त्यसलगत्तै उनलाई बिमा सम्बन्धी अर्को मुद्दामा पुनः पक्राउ गरिएको थियो। सर्वोच्चका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उनलाई हिरासतमा राख्ने प्रक्रियामा त्रुटि औंल्याउँदै परमादेश जारी गरेको थियो।


उक्त आदेशसँगै थुनामुक्त गर्न माग गर्दै दायर बन्दी प्रत्यक्षीकरण रिट खारेज गरिएको थियो, तर धरौटी वा जमानत तिर्ने अवसर दिनुपर्ने उल्लेख गरिएको थियो। सोही आदेशअनुसार गोल्छाले धरौटी बुझाएर धितोपत्र मुद्दाबाट रिहा पाए पनि, प्रहरी पुनः बिमा ऐनअन्तर्गतको कसुरमा पक्राउ गर्न पुगेको थियो।
तर, जिल्ला अदालतले पुनः म्याद थप्न अनुमति नदिएपछि उनी अन्ततः रिहा भएका हुन् । यस प्रकरणमा अनुसन्धान प्रक्रिया भने आवश्यकताअनुसार अघि बढ्ने जनाइएको छ ।