९ मंसिर २०८१, आईतवार
नेपाल आयल निगमले १५ दिनकै अवधिमा दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निमगले मंगलबार राती १२ बजेबाट लागु हुनेगरि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य लिटरमा एक–एक रुपैयाँ बढाएको हो । तर, खाना पकाउने ग्याँस तथा हवाई इन्धनको मूल्य भने यथावत् राखेको छ । इन्डियन आयल कर्पोरेसनले (आइओसी) नेपाल आयल निगमलाई महिनामा दुई पटक मूल्यसूची पठाउँछ । अंग्रेजी महिनाको प्रत्येक १५ दिनमा पेट्रोल, डिजेल र मट्टीतेलको र १ तारिखमा सबै पेट्रोलियम पदार्थको मूल्य पठाउने गर्छ । पछिल्लो पटक इन्डियन आयल कर्पोरेसनले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएर पठाएकोले आयल निगमले पनि मूल्य समायोजन गरेको जनाएको छ ।
नयाँ मूल्यसूची अनुसार अब पेट्रोल १०१ रुपैयाँ र डिजेल तथा मट्टीतेल ७८ रुपैयाँ पर्छ । नयाँ मूल्यसूची अनुसार निगमलाई प्रतिलिटर पेट्रालमा २ रुपैयाँ ६७ पैसा नाफा हुन्छ भने डिजेलमा प्रतिलिटर १ रुपैयाँ ७४ पैसा घाटा हुने निगमले जनाएको छ ।
यस्तै, मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँ २७ पैसा नाफा तथा हवाई इन्धन आन्तरिकमा १२ रुपैयाँ ८३ पैसा र बाहृयमा २४ रुपैयाँ ८८ पैसा नाफा रहेकोे पनि निगमले जनाएको छ । खाना पकाउने ग्यासमा भने अझै पनि प्रतिसिलिण्डर २ सय २६ रुपैयाँ घाटा रहेको छ । मूल्य समायोजन गरेसँगै अब मासिक घाटा ११ करोड ३९ लाख रुपैयाँ पुग्ने निगमको प्रक्षेपण छ । अहिले यस्तो घाटा साढे १९ करोड रुपैयाँ छ ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतले स्वचालित मूल्य संयन्त्रका आधारमा १५ दिनमा दुई पटक मूल्य बढाइएको बताए । उनका अनुसार नयाँ मूल्य निर्धारणपछि पनि निगमलाई ११ करोड रुपैयाँ घाटा छ । अन्तर्राष्ट्रिय बजारमा लगातार कच्चा तेलको मूल्य बढेकोले निगमलाई मूल्य बढाउन चाप परेको हो ।
निर्वाचन तथा जाडो महिनामा सदाझैं डिजेल र खाना पकाउने ग्यासको बिक्री अत्यधिक हुँदा घाटा चुलिएको निगमले जनाएको छ ।