साताको पहिलो दिनमै ओरालो लाग्यो नेप्से

होमल्याण्ड खबर

२०८३ भाद्र ८ गते, सोमबार १६:०४ मा प्रकाशित

साताको पहिलो कारोबार दिन सोमवार सेयर बजारमा गिरावट आएको छ। बजार मापक नेप्से परिसूचक १९.१३ अंकले घटेर २ हजार ५९९.५८ विन्दुमा झरेको हो ।

बजार खुलेदेखि नै ओरालो लागेको नेप्सेमा कारोबारको अन्तिम समयसम्म पनि सुधार आउन सकेन। लगातार बिक्री चाप बढ्दा परिसूचक २६ सयको मनोवैज्ञानिक विन्दुभन्दा तल ओर्लिएको हो । करिब सवा महिनाअघि २६ सयभन्दा तल झरेको नेप्से पुनः सोही तहमा आएको हो ।

बजार समग्रमा ओरालो लागे पनि केही कम्पनीको सेयर मूल्य भने उल्लेख्य रूपमा बढेको छ। सोमबार सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै, धौलागिरी लघुवित्तको सेयर मूल्य ११.९८ प्रतिशत र सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य ९.१४ प्रतिशतले बढेको छ ।

सोमवार कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रहेको छ । कम्पनीको १२ करोड ७२ लाख ८२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । त्यसैगरी, सोलु पावरको ११ करोड ८८ लाख रुपैयाँ र साहस ऊर्जाको १० करोड ६५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । समग्रमा अधिकांश कम्पनीको मूल्य घट्दा कारोबार रकम भने ३ अर्बभन्दा माथि रहेको छ । २६ सयको तहबाट पुनः तल झरेको नेप्सेले आगामी कारोबारमा कुन दिशा लिन्छ भन्ने विषय लगानीकर्ताका लागि चासोको विषय बनेको छ ।