१२ भाद्र २०८३, शुक्रबार
नेपाल उद्योग वाणिज्य महासंघले देशभरका व्यवसायीहरूलाई राहत र उद्धारमा जुट्न अपिल गरेको छ । महासंघले बिहीबार विज्ञप्तिमार्फत राष्ट्रिय विपद्को घडीमा मातहतका सम्पूर्ण जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ र देशभरका उद्योगी–व्यवसायीहरूलाई सक्रिय हुन अपिल गरेको छ ।
स्थानीय प्रशासन र सुरक्षा निकायसँग आवश्यक समन्वय गरी तत्काल उद्धार तथा राहत कार्यमा जुट्न महासंघले सबैलाई आग्रह गरेको छ । प्रभावित परिवारहरूका लागि सम्भव भएसम्म खाद्यान्न, पिउने पानी, औषधि, लत्ताकपडा र अन्य अत्यावश्यक राहत सामग्रीको व्यवस्थापन गरी सुरक्षित रूपमा पुर्याउन निजी क्षेत्रको सम्पूर्ण सामथ्र्य परिचालन गर्न महासंघले जोड दिएको छ ।


कठिन समयमा निजी क्षेत्रले आफ्नो सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्दै राज्यका प्रयासहरूमा हातेमालो गर्नुपर्ने अपिलमा उल्लेख छ ।
महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले त्रिशूली नदी तथा यससँग जोडिएका तटीय क्षेत्रहरूमा अझै पनि जोखिम कायम रहेको उल्लेख गर्दै जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न, आवतजावत नियन्त्रण गर्न र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
आपूर्ति प्रणाली नियमित र मूल्य स्थिर राख्न आग्रह
विपद्का कारण सिर्जना भएको असहज परिस्थितिमा मानवीय संवेदनशीलतालाई सर्वोच्च प्राथमिकतामा राख्न महासंघले उद्योगी–व्यवसायीहरूलाई आग्रह गरेको छ । अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति सहज, नियमित र निर्वाध बनाउनुका साथै यथोचित र स्थिर मूल्य कायम राख्न महासंघले अपिल गरेको छ ।
“यस दुःखद् घडीमा नेपाल उद्योग वाणिज्य महासंघ प्रभावित नागरिक, उद्योगी–व्यवसायी र स्थानीय समुदायको साथमा दृढतापूर्वक उभिएको छ,” महासंघको अपिला उल्लेख छ । उद्धार, राहत र पुनःस्थापनाका कार्यहरूमा सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गर्न महासंघ पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाइएको छ ।
अध्यक्ष श्रेष्ठले सम्पूर्ण नागरिक तथा उद्योगी–व्यवसायीहरूलाई उच्च सतर्कता अपनाउन, संयमित एवं सुरक्षित रहन र एकताका साथ यस विपद्को सामना गर्दै एक–अर्कालाई सहयोग गर्न हार्दिक आह्वान गरेका छन् ।