१२ मंसिर २०८१, बुधबार
कञ्चनपुरमा मंगलबार राति आगलागीबाट एक घर र एक गोठ पूर्ण रूपमा नष्ट हुँदा करिब साढे ५ लाख रुपैयाँबराबरको क्षति भएको छ ।
शुक्लाफाँटा नगरपालिका ८ पिलरीफाटामा स्थानीय गोपाल भुलको घर र चन्द्रा भुलको गोठ जलेर पूर्ण रूपमा नष्ट हुँदा करिब साढे ५ लाख रुपैयाँबराबरको क्षति भएको वडाध्यक्ष वहादुर महराले जानकारी दिए ।
उनका अनुसार गोपालको घरमा जडान गरिएको सौर्य बत्तीबाट विद्युत सर्टबाट भएको आगलागीबाट घरभित्र रहेको चार आना सुन, सोलार प्यानल, धान, गहुँ, चामल, ओढ्ने, बिछ्याउने लुगाफाटा, लगाउने लुगा र भाँडाकुँडा गरी करिब चार लाख रुपैयाँ र घरमा लागेको आगोले नजिकै रहेको चन्द्रको गोठमा पनि आगलागी हुँदा गोठमा राखेको पराल, भुसा र लत्ता कपडा सहित एक लाख पचास हजार रुपैयाँ बराबरको सरसमान जलेर नष्ट भएको छ ।
घर र गोठमा आगो लागेपछि स्थानीय गाउँले, शुक्लाफाँटा नगरपालिका ८ को वन वातावरण तथा विपद व्यवस्थापन र वन्यजन्तु सुरक्षा विशेष युनिटको सहयोगमा आगो नियन्त्रणमा आएको वडा अध्यक्ष महराले बताए ।