लुम्बिनीको १२.८२ प्रतिशत बोनस पारित

होमल्याण्ड खबर

२०७४ पुष १६ गते, आईतवार १४:४१ मा प्रकाशित

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १२.८२ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । शुक्रबार सम्पन्न १३औं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेपछि कम्पनीले ७.८ बराबर १ सेयरका दरले १० करोड रुपैयाँबराबरको बोनस सेयर बितरण गर्ने भएको छ । आर्थिक वर्ष ०७३-७४ मा कम्पनीको चुक्ता पुँजी ३९ करोड रहेको थियो । खुद मुनाफा करिब १७ करोड ९३ लाख रहेकोमा र सभाले सो वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई आव ०७४-७५ मा बाँडफाँड भएको शतप्रतिशत हकप्रद सेयरसमेत जोडी कायम हुन आएको चुक्ता पुँजी ७८ करोड रुपैयाँको १२.८२ प्रतिशत बोनस सेयर वितरण गर्न लागेको हो । सभाले कम्पनीको जारी तथा चुक्ता पुँजी ८८ करोड रुपैयाँ पुर्याउने प्रस्तावसमेत पारित गरेको छ । सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आव ०७३-७४ को वासलात, नाफा नोक्सान हिसाब तथा प्रगति विवरण प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष मनोहर दास मूलले स्थापनाको पहिलो वर्षदेखि नै लगातार मुनाफा कमाउन सफल भएको बताउँदै कम्पनीले समीक्षा वर्षमा अघिल्लो वर्षको तुलनामा ४५ प्रतिशतले वृद्धि भई करिब १ अर्ब १३ करोड रुपैयाँ बिमाशुल्क आर्जन गर्न सक्षम भएको जानकारी दिए । सभाले संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व हुने चारजना सञ्चालकमा मनोहर दास मूल, विश्वराज रेग्मी, अरुणराज श्रेष्ठ र उमेश रेग्मीलाई निर्विरोध निर्वाचित गरेको छ । साथै सोही दिन बसेको सञ्चालक समितिको बैठकले मनोहर दास मूललाई सञ्चालक समितिको अध्यक्षमा पुनः चयन गरेको छ ।