९ मंसिर २०८१, आईतवार
अमेरिकी प्रशासनले चीनको अग्रणी प्रविधि एवं दूरसञ्चार कम्पनी हुवावे विरुद्ध फौजदारी आरोप सम्बन्धी २० वटा अभियोग लगाएको छ। वासिङ्टनमा बुधबार चीन र अमेरिकाबीच व्यापार वार्ता शुरु हुनुअघि हुवावे विरुद्धको अभियोगले वार्ता नै प्रभावित हुने खतरा बढेको छ।
अमेरिकी न्याय विभागले इरान विरुद्धको अमेरिकी प्रतिबन्धलाई हुवावेले उल्लङ्घन गरी इरानसँग कारोबार गरेको तथा हुवावेको अमेरिकी साझेदार कम्पनी टी–मोबाइलबाट व्यापारिक गोप्यता चोरी गरेको अभियोग लगाएको छ।
विश्लेषकहरुले व्यापार वार्ता नियमित रुपमै अघि बढ्ने अनुमान गरेका छन्, तर कुनै निश्चित उपलब्धि तत्कालै सम्भव नहुने आशङ्का बढेको छ। दुबै पक्ष आगामी मार्च १ तारिखभित्रै कुनै सहमतिमा नपुगे करिब २०० अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानमा हाल लागेको १० प्रतिशत करवृद्धिलाई २५ प्रतिशत पुर्याइने अमेरिकाले जनाएको छ।
“चिनीया अधिकारीहरुले वार्तालाई निरन्तरता दिनेछन्,” ब्रुकिङ इन्स्टिच्ट्युसनका वरिष्ट विश्लेषक डेभिड डोलरले बताए। “उनीहरु अमेरिकी न्याय विभागको कार्यबाट प्रसन्न हुने कुरै छैन, तर मेरो विचारमा उनीहरुले हुवावे मामिलालाई व्यापार वार्तामा उठाउने छैनन् ।”
अमेरिकी व्यापार प्रतिनिधिहरुले अमेरिकी प्रशासनको पछिल्लो कदमले दुबै मुलुकबीच जारी व्यापार वार्ताको वातावरणलाई नोक्सान पुर्याउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
न्याय विभागले हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउमाथि पनि अभियोग लगाएको छ। संयुक्तराज्य अमेरिकाले मेङलाई सुपुर्दगी गर्न पनि क्यानाडासमक्ष आग्रह गरेको छ। मेङलाई क्यानाडामा गत वर्ष डिसेम्बर १ मा पक्राउ गरिएको छ।