मेलम्चीको बाँकी काम नेपाली ठेकेदार मार्फत्

होमल्याण्ड खबर

२०७५ माघ १६ गते, बुधबार ११:१० मा प्रकाशित

सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सहायक ठेकदार कम्पनी मार्फत् गर्न विशेष परिस्थितिमा जाने तयारी गरेको छ ।

मेलम्ची खानेपानी विकास समितिले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दा मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न गर्न दुईदेखि तीन वर्ष लाग्ने भन्दै विशेष परिस्थितिमा जाने तयारी गरेको हो । समितिले मन्त्रिपरिषद्को बैठकबाट सार्वजनिक खरिद ऐनको दफा ६६ तथा सार्वजनिक खरिद नियमावलीको दफा १ सय ४५ अनुसार विशेष परिस्थितिको अवस्था जनाई खरिद प्रकिया अगाडि बढाउने तयारी गरेको छ ।

खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले सोमबार बसेको विकास तथा प्रविधि समितिको बैठमा मौज्दात सप्लायर्स तथा भेण्डरहरूलाई नै प्रयोग गरी तीनदेखि चार महिनाभित्रमा पानी डायभर्सन गरी काठमाडौंमा झार्ने र हेडवर्कस्लगायतका अन्य बाँकी काम छिटो प्रकियामार्फत् सम्पन्न गर्ने तयारी गरेको बताए । उनले इटालियन ठेकदार कम्पनी सीएमसी १४ दिनभित्र सम्पर्कमा नआए ठेक्का सम्झौता रद्द गरेर सहायक ठेकदार कम्पनीमार्फत् काम अगाडि बढाउने तयारी गरेको समितिलाई जानकारी दिएका हुन् ।

समितिको बैठकमा सांसदहरूले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको बाँकी काम पूरा गर्न सरकार गम्भीर नभएको भन्दै चर्को आलोचना गरेका छन् । उनीहरूले मेलम्चीको पानी दसैंअघि नै आउने भनी झुटो प्रतिबद्धता जनता सामू व्यक्त गरेको भन्दै खानेपानी मन्त्रालयका सचिव ठाकुरप्रति आक्रोश पनि व्यक्त गरेका छन् ।

खानेपानी मन्त्रालयका अनुसार हालसम्म आयोजनाको ९३ प्रतिशत काम सम्पन्न भइसकेको छ । सएमसीले ७ अर्ब ७२ करोड ६४ लाख रूपैयाँ लागतमा जिम्मा लिएको आयोजनमा अहिलेसम्म ८ अर्ब ३६ करोड रूपैयाँ लगेको छ भने २ अर्ब ४२ करोड ३२ लाख रूपैयाँ लागत बराबरको काम बाँकी रहेको अनुमान गरिएको छ ।