९ मंसिर २०८१, आईतवार
एजेन्सी
गत वर्षको अन्तिम त्रैमासिक अवधिमा नाफा कीर्तिमानी हुने अपेक्षा सामसङले गरेको छ । तर, यो नाफा विश्लेषकहरूको अपेक्षाभन्दा कम हुने भएको छ ।
मेमोरी चिप्समा विश्वकै ठूलो कम्पनीले सञ्चालन आम्दानी १५.१ ट्रिलियन वन अर्थात् १४.१ अर्ब डलर हुने प्रक्षेपण गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ६४ प्रतिशत बढी हो । तर चिपको मूल्यले नाफा बढाए पनि कोरियाली मुद्रा वनका कारण भने नाफा प्रभावित हुने अपेक्षा गरिएको छ ।
दक्षिण कोरियाली फर्ममा भ्रष्टाचारका कारण शीर्ष नेतृत्व प्रभावित भए बाबजुद यो कीर्तिमानी आम्दानी भएको हो ।
सञ्चालन नाफा विश्लेषकहरूको अनुमान १५.९ ट्रिलियन वनको दाँजोमा भने कम हो ।
यो प्रक्षेपणले सामसङलाई कीर्तिमानी अवस्थाको वार्षिक नाफाको बाटोमा ल्याएको छ । यो वर्ष कम्प्युटर मेमोरी चिप्सको मूल्य पनि उकालो लागेको छ ।
तर २०१८ को परिदृश्य कम निश्चित अवस्थामा रहेको छ । सामसङको सेयर मूल्य नोभेम्बरमा पुगेको सबै समयको उच्चबाट १० प्रतिशतले ओर्लिएको छ ।
यसैबीच स्मार्टफोन र अन्य मोबाइल संयन्त्रको बजारले चिनियाँ प्रतिद्वन्द्वीबाट चर्को प्रतिस्पर्धाको सामना गरिरहेको छ ।
यसका साथसाथै सामसङका उत्तराधिकारीलाई घूस र भ्रष्टाचारको आरोपमा जेल चलान गरिएपछि सामसङको साखमा गिरावट आएको छ । ब्याट्री अधिक तात्ने र पड्कने समस्याले फ्ल्यागसिप नोट सेभेन स्मार्टफोनको विश्वव्यापी फिर्ताले पनि सामसङको साखमा गिरावट आएको छ ।
यद्यपि ह्यान्डसेटमा देखिएको समस्याले फर्मको वित्तीय अवस्थामा भने कुनै ठूलो असर पारेको छैन ।