मेलम्चीको ठेक्का आज तोडिँदै

होमल्याण्ड खबर

२०७५ माघ २२ गते, मंगलवार ११:३५ मा प्रकाशित

मेलम्ची खानेपानी आयोजनाको ठेक्का आज तोडिने भएको छ । मेलम्ची खानेपानी विकास बोर्डले आज ठेक्का तोडिएको पत्र पठाउन लागेको हो । त्यसका लागि हाल खानेपानी मन्त्रालयमा छलफल भैरहेको छ ।

‘मन्त्रालयमा छलफल भैरहेको छ, आज ठेक्का तोडिएको पत्र पठाउँछौं’, मेलम्ची खानेपानी विकास बोर्डका प्रवक्ता राजेन्द्र पन्तले भने । आयोजनाले ३ महिनाभित्र मेलम्चीको काम सक्ने गरि कार्ययोजना समेत तयार पारेको छ । ठेक्का सम्झौता कुनै एउटा पक्षले १४ दिनसम्म काम नगरेमा ठेक्का रद्धको पत्र पठाउन सकिने व्यवस्था छ ।

आयोजनाले इटालियन ठेकेदार कम्पनी सिएमसीलाई सम्पर्कमा आउन १४ दिन अघि पत्र पठाएको थियो । सो पत्रको जवाफ नआएपछि आयोजनाले आज ठेक्का तोड्न लागेको हो । आयोजना कसरी अघि बढाउने भन्ने सम्बन्धी कार्ययोजना तयार भैसकेको छ । अब भ्याट बाहेक २ अर्बको काम बाँकी रहेको छ । आगामी ३ महिनाभित्र सुन्दरीजलमा पानी ल्याउने गरि कार्ययोजना तयार भएको प्रवक्ता पन्तले जानकारी दिए ।
‘ठेक्का लागेको मितिले ३ महिना भित्र सुन्दरीजलमा पानी झार्ने योजनासहित नयाँ ठेक्का लगाउने तय भएको छ’, पन्तले भने ।