६ सय ६२ सहसचिवको समायोजन

होमल्याण्ड खबर

२०७५ माघ २९ गते, मंगलवार १५:२१ मा प्रकाशित

सरकारले ६ सय ६२ सहसचिवको समायोजन गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले आवेदन दिएको आधारमा संघमा ५ सय ६० र प्रदेशमा १ सय २ सहसचिवको समायोजन गरिएको बताए ।

‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ६ सय ६२ सहसचिवलाई समायोजन गरिएको उनले बताए ।

उनका अनुसार ती सहसचिवको मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि समायोजन गरिएको हो ।

यसअघि सरकारले सचिव र ८४८ उपसचिवको समायोजन गरिसकेको छ ।

समायोजन गरिएका सहसचिवको समायोजनको पत्र तयार भइरहेको र चाँडै नै समायोजनको पत्र दिइने मन्त्रालयले बताएको छ ।

मन्त्रालयका अनुसार उपसचिवको समायोजन सकिएपछि शाखा अधिकृतदेखि तल्लो तहका कर्मचारीलाई समायोजन गरिने छ ।

सरकारले संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि यही माघ २ गतेसम्म अनलाइन फाराम भर्न समयसीमा तोकेको थियो ।

सरकारले आगामी फागुन ३ गतेसम्म अनलाइन आवेदनका आधारमा सबै कर्मचारीको समायोजन गरिसक्ने लक्ष्य लिएको छ ।