कालीगण्डकी करिडोर प्रभावितलाई मुआब्जा बितरण गरिदै

होमल्याण्ड खबर

२०७४ फाल्गुन २७ गते, आईतवार ०८:१५ मा प्रकाशित

राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर प्रसारण लाइनका प्रभावितलाई आठ करोड रूपैयाँ मुआब्जा वितरण गरिने भएको छ । बहुचर्चित २२० केभीए दाना–खुर्कोट–बर्दघाट कालीगण्डकी करिडोर प्रसारण लाइनअन्तर्गत म्याग्दी र पर्वत क्षेत्रका एकसय प्रभावित घरधुरीलाई रु आठ करोड मुआब्जा वितरण गर्न भएको छ । मालपोत र नापी कार्यालयको सिफारिश, चलनचल्तीको दररेट र स्थानीयवासीको मागलाई ध्यानमा राखेर म्याग्दीमा चार करोड १७ लाख र पर्वतमा तीन करोड ९७ लाख रूपैयाँ मुआब्जा वितरण गरिने आयोजकले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालयमार्फत मुआब्जा वितरण व्यवस्था मिलाइएको आयोजनाले जनाएको छ । म्याग्दी, पर्वत, मुस्ताङ क्षेत्रमा निर्माण चरणमा रहेका जलविद्युत् आयोजनालाई ध्यानमा राख्दै प्रसारण लाइन निर्माण गर्न लागिएको हो । प्रसारण लाइनका लागि म्याग्दीको दाना र पर्वतको खुर्कोटमा सबस्टेसन निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । खुर्कोटदेखि बर्दघाटसम्म सरकारले दोस्रो चरणमा निर्माण गर्न प्राथमिकतामा राखेको छ । ४२ किलोमिटरको दाना–खुर्कोट प्रसारण लाइनलाई म्याग्दीको अन्नपूर्ण, रघुगंगा र पर्वतको जलजजा गाउँपालिकाका विभिन्न वडामा ११४ ठूला टावर निर्माण हुनेछन् । ती टावर रहने जग्गाको मुआब्जा वितरण गर्न लागिएको हो ।
आयोजनाका लेखा प्रमुख गोविन्द सुवेदीका अनुसार म्याग्दीमा प्रतिरोपनी १३ लाख र पर्वतमा १० लाख रूपैयाँका दरले मुआब्जा वितरण हुनेछ ।