९ मंसिर २०८१, आईतवार
ब्याजदरका बिषयमा एनआईसी एशिया बैंक र नेपाल बैंकर्स एशोसिएसनबीच देखिएको विवाद राष्ट्र बैंकको मध्यस्थतामा टुंगिएको छ ।
सोमबार साँझ राष्ट्र बैंकमा भएको छलफलमा एनआईसी एशिया बैंकले अरु बैंककै जस्तो ब्याजदर कायम गर्ने सहमति गरेपछि दुवै पक्षवीचको विवाद मिलेको हो ।अब एनआईसी एशिया बैंकले अरु बैंकहरुले जस्तै बचतमा ८ प्रतिशत र मुद्दतीमा अधिकतम १० प्रतिशतमात्र ब्याज दिने व्यवस्था गरेको छ ।
यो सहमतिअनुसार बैंकले सूचना जारी गर्ने र शुक्रबारबाट सहमति लागू गरिने एनआईसी एशिया बैंकले जनाएको छ । एनआईसी एशियाले मुद्दती निक्षेपमा १२ र बचतमा १० प्रतिशत व्याजदर प्रस्ताव गरेसँगै बैंकर्स संघमा आबद्ध अन्य बैंकहरुले अन्तर बैंक कारोबार रोक्ने भन्दै बिरोधमा उत्रिएका थिए ।
संघले बचतमा अधिकतम आठ प्रतिशत र मुद्दती निक्षेपमा ११ प्रतिशत मात्र व्याजदर दिने आपसी सहमति गर्दै आएको थियो तर एनआईसी एशिया बैंकले केही दिन अघि आफु खुसी व्याजदर बढाएको थियो ।
एनआईसी एशियाले तत्काल व्याजदर घटाउन समस्या हुने भन्दै शुक्रबारसम्म समय लिने प्रतिवद्धता गरेको छ । आगामी दिनमा परिस्थितिअनुसार संघकै निर्णयअनुसार व्याजदर निर्धारण गरिने बैंकले जनाएको छ ।