काठमाडौंमा चैत्र ९ देखि राष्ट्रिय औद्योगिक प्रर्दशनी आयोजना हुँदै

होमल्याण्ड खबर

२०७४ चैत्र ४ गते, आईतवार ०८:२० मा प्रकाशित

घरेलु तथा साना उद्योग विकास समिति प्रधान कार्यालयको आयोजनामा चैत्र ९ देखि १३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा २९ औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रम आयोजना हुने भएको छ ।
‘स्वदेशी वस्तु प्रयोग गरौ, समृद्धि तर्फ अघि बढौं’ भन्ने मुल नाराका साथ आयोजना हुन लागेको यस प्रदर्शनीमा मुलुकभरका ७७ जिल्लाका लघु, घरेलु तथा साना उद्यमीको सहभागिता रहने घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ । प्रदर्शनीमा लघु, घरेलु तथा साना उद्योगवाट उत्पादित सामानहरु विक्री तथा प्रदर्शनीका लागि राखिनुका साथै मुलुकभरका उद्यमीहरुको जमघट तथा अन्तरक्रिया कार्यक्रम पनि समावेश गरिएको छ । पाँच दिनसम्म संचालन हुने सो प्रदर्शनीमा ३ सय प्रदर्शनी कक्ष (स्टल) रहने छन् भने ५ लाखले अवलोकन गर्ने अपेक्षा राखिएको छ । प्रर्दशनीको विशेष आकर्षणको रुपमा मौलिक नेपाली हस्तकला र काष्ठकला जन्य उत्पादनहरु, परम्परागत तथा आधुनिक उपर्युक्त प्रविधि, छाला जुत्ता तथा छालाजन्य वस्तुहरु, प्राकृतिक रेशावाट उत्पादित कपडा र वस्तुहरु, वाँसका वस्तुहरु, फलफूलमा आधारित उत्पादनहरु, करुवा र खुकुरी, कृषि तथा वजन्य उत्पादनहरु लगायतका सामानहरु प्रर्दशनिमा रहने छन् ।
७७ जिल्लाका उद्यमी सहभागी हुने र उद्यमीले तयार पारेका सामान लाई एउटै छातामुनीबाट उपभोक्तलाई सहज रुपमा खरिद गर्न मिल्ने गरि स्टल तयार पार्न लागिएको घरेलु तथा साना उद्योग विकास समितिले बताएको छ । सोही प्रर्दशनीकै अवसरमा उद्यमीहरुलाई पूर्णरुपमा जानकारी दिन बौद्धिक सम्पती तथा उद्योग व्यवसाय प्रवद्र्धन वारे सम्वन्धित निकाय र उद्यमीहरुबीच अन्तरक्रिया कार्यक्रम समेत राखिएको छ । लघु घरेलु तथा साना उद्यमीहरुवाट उत्पादित वस्तुहरुको बजार विस्तार तथा प्रवद्र्धन गर्ने अभिप्रायले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि प्रर्दशनी आयोजना गर्न लागिएको हो । प्रदर्शनीमा उद्यमीले उत्पादन गरेका सामानहरुलाई बजारीकरण गर्न सजिलो हुनुका साथै त्यस्ता सामानको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत बजारीकरण गर्न कोसेढुङगा सावित हुने भएकाले समितिले २०४२ सालदेखी राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रर्दशनि र उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार जस्ता कार्यक्रमलाई निरन्तरता दिदै आएको घरेलु समितिको दाबी छ ।