रिलायन्स लाइफ इन्स्योरेन्सको दोश्रो साधारणसभा सम्पन्न

होमल्याण्ड खबर

२०७६ श्रावण ३१ गते, शुक्रबार १७:२० मा प्रकाशित

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आज आफ्नो दोश्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभामा अध्यक्ष ताराचन्द केडियाले आ.व.२०७४–०७५ को वार्षिक प्रतिवेदन पेश गरेका थिए । त्यसैगरी अन्य सञ्चालकहरु भरत कुमार तोदी, जगदीश कुमार अग्रवाल, अमित कुमार बेगानी तथा सुन्दर प्रसाद कँडेल साधारणसभामा सहभागी थिए । 

सो सभाले सञ्चालक समितिको आ.व. २०७४–७५ को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आव २०७४–७५ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु, कम्पनीको आ.व. २०७५–०७६ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको परिश्रमिक निर्धारण गर्ने तथा सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीको अधिकृत पूँजी रु. ३ अर्ब र जारी पुँजी रु. २ अर्ब १० करोड रहेकोमा जारी पूँजीको ३० प्रतिशतको हुन आउने रकम रु. ६३ करोड बराबरको शेयर कम्पनीले सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्नेछ ।