१५ मंसिर २०८१, शनिबार
नेपाल र अष्ट्रेलियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता भएको छ । दुई देशका प्रतिनिधिमण्डलबीच अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को क्यानडाको मन्ट्रियलस्थित प्रधान कार्यालयमा मंगलबार द्विपक्षीय सम्झौता भएको हो ।
नेपालले हवाई सेवा सम्झौता गरेको अष्ट्रेलिया ४० औं मुलुक हो । दुई देशबीच भएको सैद्धान्तिक सम्झौताका आधारमा अनुमति प्राप्त एयरलाइन्सहरुले उडान गर्न सक्ने छन्।
नेपालका तोकिएका एयरलाइन्सले सिड्नी, मेलबर्न, ब्रिसबेन र पर्थमा गरी जम्मा सात उडान प्रतिस्पर्धाको क्षमतामा र अन्य विमानस्थलहरुमा असीमित क्षमतामा उडान गर्न सक्ने समझदारी भएको छ ।
यस्तै अष्ट्रेलियन पक्षका एयरलाइन्सले काठमाडौंमा सात उडान प्रतिस्पर्धाको क्षमतामा मात्र उडान गर्ने र बाँकी २८ उडान प्रतिस्पर्धाको क्षमता पोखरा, भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायतमा उपयोग गर्नु पर्ने छ ।
समझदारी पत्रमा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य र अष्ट्रेलियन प्रतिनिधिमण्डलको तर्फबाट संघीय पूर्वाधार, यातायात, शहरी एवं क्षेत्रीय मन्त्रालयका कार्यकारी निर्देशक जिम होल्फले हस्ताक्षर गरेका छन् ।
समझदारीअनुसार नेपाली एयरलाइन्सले अष्ट्रेलियाको मध्यवर्ती विन्दुलाई आधार मानेर न्युजिल्यान्डका दुई विन्दु उपयोग गर्नसक्ने छन् भने अष्ट्रेलियाका एयरलाइन्सले नेपाललाई मध्यवर्ती विन्दु उपयोग गरी भारतको नयाँ दिल्ली बाहेकका दक्षिण एसियाका २ विमानस्थलमा फिफ्थ फ्रिडम उपयोग गर्नसक्ने छन् ।