१५ मंसिर २०८१, शनिबार
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले लगानी भित्र्याउन संस्था प्रतिबद्धताका साथ लागि परेको बताएका छन् । उनले एनआरएनएको तर्फबाट रु १२ अर्ब लगानी भित्र्याउने प्रतिबद्धताका साथ काम शुरु गरिएको जानकारी दिए । एनआरएन नवनिर्वाचित पदाधिकारीलाई सम्मान तथा बधाइ दिन आयोजना गरेको कार्यक्रममा अध्यक्ष पन्तले भने, “हामीले नेपाल सरकारसँग रु १२ अर्ब भित्र्याउने भनेर एमओयु पनि गरिसकेका छौँ, यो प्रतिबद्धता पूरा गर्नका लागि काम शुरु गरिसकेका छौँ ।” उक्त म्युच्युअल फण्डमा ९० प्रतिशत एनआरएनको लगानी रहने र बाँकी १० प्रतिशतमा पाँच प्रतिशत निजी क्षेत्र र अर्को पाँच प्रतिशत नेपाल सरकारको रहने अध्यक्ष पन्तले जानकारी दिए ।
गैरआवासीय नेपालीले विदेशमा हासिल गरेको ज्ञान, सीप, पूँजी र लगानी नेपाल भित्र्याएर देशको विकास र समृद्धिका लागि सामूहिक लगानी बढाइने उहाँको भनाइ थियो । पछिल्लो समय एनआरएनले नेपालमा सामूहिक लगानीमार्फत २७ मेगावाटको तोर्दी खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिसकेको छ । संघका उपाध्यक्ष मन केसीले दीर्घकालीन योजनासहित काम गर्ने बताउँदै यसअघि गरिएका प्रतिबद्धता कार्यान्वयन गरेरै छोड्ने बताए । उपाध्यक्षद्वय सोनाम लामा र अर्जुनकुमार श्रेष्ठले सरकारले घोषणा गरेबमोजिम नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल पार्न सक्रिय भूमिका निर्वाह गर्ने बताए । एनआरएनका महासचिव डा हेमराज शर्माले नवौँ विश्व सम्मेलनमा निर्वाचनको क्रममा उत्पन्न समस्याका कारण सङ्घको छविमा केही प्रश्न उठेको भए पनि त्यसलाई छिटपुट घटनाको रुपमा लिन आग्रह गर्नुभयो । सचिव आरके शर्मा, सहकोषाध्यक्ष लोक दाहाल र अमेरिका महिला क्षेत्रीय संयोजक उमा कार्की थापाले श्रमिक मजदूरको पक्षमा लागिपर्ने बताए ।