उद्योग र उद्यमशीलताको विकास बिना मुलुकको समृद्धि असम्भव : मन्त्री गुरुङ

होमल्याण्ड खबर

२०७६ मंसिर ११ गते, बुधबार १६:४० मा प्रकाशित

नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले उद्योग र उद्यमशीलताको विकास बिना मुलुककै समृद्धि सम्भव नहुने बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधि मण्डलसँग मन्त्रालयमै छलफल गर्दै उनले सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्नका लागि मुलुकमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगहरुको प्रबर्द्धन र विकास अपरिहार्य भएकोमा जोड दिए ।

स्थानीयस्तरमा आफनै कच्चा पदार्थबाट उत्पादित यस्ता उद्योग र तिनका उत्पादनको प्रबर्द्धन र बजारीकरणबाट नै मुलुकमा बढ्दै गएको व्यापार घाटा न्यूनीकरणमा सघाउ पुग्ने भन्दै मन्त्री गरुङले यस्ता उद्योगहरुको संरक्षण र प्रबर्द्धनका लागि आफनो मन्त्रालय, अन्तरमन्त्रालय र सरकारसँग पनि छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट पनि महिला उद्यमशीलता र यस्तै अरु क्षेत्रमा काम भइरहेको जनाउँदै उनले आगामी दिनमा महासंघसँगको सहकार्य र छलफलबाट अगाडि बढ्ने सोंच रहेको  प्रस्ट पारे ।

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मुलुकलाई तीब्रत्तर आर्थिक वृद्धिमा लैजानका लागि लघु, घरेलु तथा साना उद्योगको भूमिका उच्च रहेको भन्दै बेलैमा यस्ता उद्योगको विकास र प्रबर्द्धन गर्न नसकिए केही वर्षपछि आफैं बन्द हुने उनको भनाई थियो ।

सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य नेपाली उद्योग र तिनका उत्पादनसँग जोडिने भन्दै अहिले सञ्चालित हजारौं परम्परागत लघु, घरेलु तथा साना उद्योगधन्दाहरुको क्षमता विकास गर्नुपर्ने आवश्यकता औंल्याए ।