१० मंसिर २०८१, सोमबार
नेपाल आयल निगमले ९० दिनभित्र प्रडक्ट डेलिभरी अर्डर (पीडीओ) लिन नयाँ ग्यास उद्योगीलाई आग्रह गरेको छ ।
निगमले नयाँ उद्योग सञ्चालनको अनुमति पाएका ग्यास उद्योगीलाई ९० दिनभित्र पनि पीडीओ नलिए उद्योग खारेज हुने पनि जनाएको छ । निगमले शाखा विस्तारको तयारीमा रहेका र निर्माणको चरणमा रहेका नयाँ ग्यास उद्योगीलाई यस्तो सूचना जारी गरेको हो ।
सूचना पुराना ग्यास उद्योगीका लागि नभएको निगमका एलपी ग्यास विभागका निर्देशक दीपक बरालले बताए । उनले ग्यास उद्योगको नयाँ लाइसेन्स लिएका, शाखा विस्तार गर्न अनुमति लिएका उद्योगीलाई ९० दिनभित्र पीडीओ लिन भनेको बताए ।
सो समयभित्र पीडीओ नलिए शाखा विस्तार, उद्योगको लाइसेन्स खारेज हुने र पुनः समय नथपिने पनि उनले स्पष्ट पारे । पीडीओ लिनुपर्ने ग्यास उद्योगीको संख्याबारे भने उनले केही बताएनन् ।
दर्ता भएका ग्यास उद्योगहरूले निगमको विनियमअनुसार पीडीओ लिएर उद्योग सञ्चालन गर्नुपर्छ । तर, ०७१ माघ १४ पछि एलपी ग्यासका नयाँ तथा शाखा उद्योग निर्माण गर्न निगमबाट अनुमति लिई निर्माण गरिरहेका उद्योगीहरूले हालसम्म पनि पीडीओ लिएका छैनन् । निगमले ग्यास उद्योगहरूले पीडीओ लिन आनाकानी गरेपछि ९० दिने सूचना सार्वजनिक गरेको हो ।