प्राविधिक वार्ता टोली बुधबार भारत जाने

होमल्याण्ड खबर

२०७५ श्रावण २२ गते, मंगलवार १०:५६ मा प्रकाशित

भारतसँगको वाणिज्य सन्धि पुनरावलोकन गर्नका लागि नेपाली प्राविधिक वार्ता टोलीे बुधबार भारत जाने भएको छ ।
उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रवीशङ्कर सैँजुको नेतृत्वको टोलीले सन् २००९ मा भएको नेपाल भारत वाणिज्य सन्धि कार्यान्वयन गर्दा हालसम्म देखिएका कमी, कमजोरी तथा आगामी दिनमा गर्नुपर्ने सुधारका बारेमा कार्यसूची तय गरेर भारत जाने भएको छ ।
‘भारतसँग नेपालको व्यापार घाटा बर्षेनी वृद्धि भइरहेको अवस्थामा हामीले हाम्रा केही उत्पादनलाई भारत तर्फ निर्यात गर्नका लागि थप सहज वातावरण र नीतिगत संशोधनका कुरा उठाउने तयारी गरिरहेका छौँ,’ सहसचिव सैँजुले भने ।
नेपालका कृषि उत्पादन हाल सहज रूपमा भारततर्फ निर्यात हुन नसकेको र अन्य औद्योगिक उत्पादनले समेत भारतीय बजारमा खुला प्रवेश नपाएको बेला नेपालले भारतसँगको वाणिज्य सन्धिमा पुरावलोकन गर्न सहसचिव स्तरीय पुनरावलोकन वार्ता टोली गठन गरेको थियो ।
उनले भने, ‘हामीले वाणिज्य सन्धिमा संशोधन तथा पुनरावलोकन गर्ने विषयमा भारतीय पक्षसँग कार्यसूची प्रस्तुत गर्नेछौँ । प्रारम्भिक वैठक भए पनि त्यसे आधारभूत सिद्धान्तको आधार खडा गर्नेछ । ’
नेपाल भारतका वीच बाणिज्य सन्धि बेला बेला संशोधन तथा पुनरावलोकन हुँदै आएको छ । सन् २००९ मा भएको पछिल्लो बाणिज्य सन्धि सन् २०१६ मा सात वर्षका लागि नवीकरण भएको थियो ।
नेपालका भारतीय लगानी भित्र्याउनका लागि पनि नेपालले गर्नुपर्ने नीतिगत व्यवस्था तथा वातावरण सिर्जना गर्ने विषयमा पनि वैठकमा कार्यसूचीहरू प्रवेश हुने छन् ।