१० मंसिर २०८१, सोमबार
योग गुरु रामदेवको कम्पनी पतञ्जलीका उत्पादन र बजारहिस्सा पछिल्ला वर्षहरुमा बजार दिग्गजबीच चर्चाको विषय रह्यो ।
एफएमसीजी (फास्ट मुभिङ कन्जुमर गुड्स) बजारमा दबदबा रहेको हिन्दुस्तान युनिलिभरलाई पनि यसले पछार्न सक्ने अनुमान गरिन्थ्यो । आगामी ३ देखि ५ वर्षभित्र पतञ्जलीको टर्नओभर २० हजार करोडदेखि २५ हजार करोड रुपैयाँसम्म पुर्याउनुपर्ने घोषणा गत वर्ष अप्रिलमा स्वयम् रामदेवले नै गरेका थिए ।
तर, उनको महत्वाकांक्षी घोषणा साकार हुन कठिन पर्ने अवस्था उत्पन्न भएको छ । गत आर्थिक वर्षमा कम्पनीको टर्नओभर १० हजार करोडमात्रै रह्यो, जुन रकम अघिल्लो आवमै पनि थियो । रेटिङ एजेन्सी क्रेडिट स्विसका अनुसार पतञ्जलीको बढोत्तरीमा ब्रेक लाग्नुका थुप्रै कारण छन् । एजेन्सीले मुख्य कारणमा भारतमा पतञ्जलीले जस्तै आयुर्वेदिक उत्पादन गर्ने अन्य कम्पनीहरु खुल्नु र पतञ्जलीका उत्पादनमा नयाँपन नआउनुलाई मानेको छ । पतञ्जलीले सुरुका दिनमा आफ्ना उत्पादनहरु चिकित्सालयमार्फत् बेच्ने गथ्र्यो । पछि उसले नयाँ वितरक नियुक्त गर्नुका साथै खुद्रा पसलबाट पनि आफ्ना उत्पादन बिक्री गर्ने नीति लियो ।
यहीबीच चिकित्सायलको ‘चेन’ कमजोर बन्यो भने नयाँ नेटवर्क विस्तार पनि सुस्त हुन पुग्यो । अहिले पतञ्जलीको ‘डिस्ट्रिब्युसन नेटवर्क’ हिन्दुस्तान युनिलिभरको प्रतिष्पर्धामा १/३० छ । बजारमा पतञ्जलीको विश्वास बढाउने मुख्य वस्तु आयुर्वेदिक फार्मेसी नै थियो । विस्तारै कम्पनीले हर्बल तथा अग्र्यानिक फुडमा हात हाल्यो ।
लोकप्रियता वृद्धिसँगै उसले बिस्कुट, चाउचाउ, टुथब्रसका साथै फ्रोजन भेजिटेबल्स तथा कपडासम्म उत्पादन गर्न थाल्यो । यसको नकारात्मक असर विस्तारै आयुर्वेदिक उत्पादनमा पर्न गएको हुन सक्ने रेटिङ एजेन्सीको अनुमान छ ।
उता, भारतका स्थापित विश्वसनीय कम्पनीहरु कोलगेट तथा हिन्दुस्तान युनिलिभरले पनि ग्राहकको मन जित्ने उद्देश्यका साथ नेचुरल प्रडक्ट बजारमा ल्याइदिए ।
डाबर र कोलगेटले यस्ता उत्पादनमा ठूलो लगानी गरिदिए । डाबर, युनिलिभर, कोलगेटजस्ता कम्पनीबीच ग्राहक तान्न मूल्यमा प्रतिष्पर्धा चल्न थाल्यो । यसले पतञ्जली ओझेलमा पर्न गयो । यसका साथै पतञ्जलीले प्रवद्र्धनात्मक क्रियाकलापमा ध्यान कम दिनु र कम लगानी गर्नुलाई पनि ग्रोथ नहुनुको कारण मानिएको छ ।