बिहेकाे सिजन सुरु : सुनकाे मूल्य कता जाला ?

होमल्याण्ड खबर

२०७७ मंसिर ३ गते, बुधबार १२:१८ मा प्रकाशित

मंसिर महिना लागेसँगै विवाहकाे सिजन सुरु भएकाे छ । विवाहकाे सिजनमा सामान्यतः सुनकाे मूल्यमा वृद्धि हुने गर्छ । झन् यस वर्ष त मंसिरपछि विवाहका लगन नै छैनन् । त्यसकारण पनि याे मंसिरमा बढी विवाह हुने आँकलन गरिएकाे छ ।

तर यस वर्ष भने काेराेना महामारीका कारण एकाएक बढेर लाख नाघेकाे सुनकाे मूल्य ओरालाे लाग्ने क्रममा छ । मंसिरकाे पहिलाे काराेबार दिन भने सुनको भाउमा सामान्य गिरावट आएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनकाे मूल्य तोलाको ९५ हजार १ सय रुपैयाँ ताेकेकाे छ । तिहारअघि कात्तिक २८ गते छापावाल सुन ९५ हजार २ सय रुपैयाँमा काराेबार भएकाे थियो ।

यस्तै तेजाबी सुनको मूल्य पनि ९४ हजार ६ सय कायम भएको छ ।

यता चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । गत कात्तिक २८ गते तोलाको १२ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको आज बुधबार तोलाको १२ सय ३० मूल्य कायम गरिएको महासंघले जनाएको छ ।