नेपाल उधमशीलता शिखर सम्मेलन सुरु

होमल्याण्ड खबर

२०७५ फाल्गुन २ गते, बिहीबार १३:१५ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकासमा उधमशीलताको भूमिका अपरिहार्य रहेको बताएकी छन् । राष्ट्रपति भण्डारीले नेपाली युवाहरुलाई मुलुकभित्रै रोजगारीको अवसर सृजना गर्न तथा मुलुकमा बढ्दो व्यापार घाटालाई सन्तुलनमा ल्याउन पनि उद्यमशीलताको विकास अति महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन् ।

नेपाल उधमशीलता शिखर सम्मेलनको बिहीबार काठमाडौंमा उद्घाटन गर्दै उनले नवीन सोच भएका युवाहरुमा लगानी र उद्यमशील वातावरण बनाउन सके नेपाली युवाहरु विश्व बजारमै सक्षम हुने र त्यसले मुलुकको समृद्धिको अभियानमा महत्वपूर्ण योगदान दिने पनि स्मरण गराइन् । कार्यक्रममा उधोग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले मुलुकलाई समृद्ध बनाउने अभियानमा सहयोग गर्न निजी क्षेत्रका उधोगीहरुलाई आग्रह गरे ।

नेपाल उधोग परिसंघका अध्यक्ष हरिभक्त शर्माले युवाहरुलाई उद्यमशीलताप्रति आकर्षित गर्न सो सम्मेलन आयोजना गरिएको स्पष्ट पारे । नेपाल उधोग परिसंघको संयोजनमा आयोजना गरिएको सम्मेलनमा देशभरका उद्यमीहरु सहभागी भएका छन् । सम्मेलनले नेपालमा उधम विकास, लगानी र त्यसका लागि आवश्यक नीतिगत तथा कानुनी व्यवस्थाका विषयमा ठोस धारणा तय गर्ने अपेक्षा गरिएको छ ।