ल्याबोरेटरी भ्यानमा पनि सरकारको अनियमितता

होमल्याण्ड खबर

२०७५ फाल्गुन १७ गते, शुक्रबार १५:२२ मा प्रकाशित

सरकारले बैशाखमा टर्कीबाट आयात गरेको ल्याबोरेटरी भ्यान खरिदमा अनियमितता भेटिएको छ ।

राजमार्ग, नाका र बजार अनुगमनका क्रममा तत्काल नमुना परीक्षण र नतिजा दिन खरिद गरिएका चार ल्याबोरेटरी भ्यानमा अनियमितता भएको हो ।

अनुगमनस्थलमै वस्तुको परीक्षण गर्न खरिद गरेको उक्त ल्याबोरेटरी भ्यानहरुमा अनियमितता देखिएको छ ।

भ्यान खरिदका क्रममा सम्झौता गरिएअनुसार भ्यानभित्र रहेको प्रयोगशालामा पूर्वाधार नभएको र सानासाना समस्या देखिएपछि औपचारिक रूपमा हस्तान्तरण हुन नसकेको देखिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग स्रोत अनुसार सरकारले भ्यानका लागि २०७३—७४ मा बजेटमार्फत खरिद गर्ने घोषणा गरेको थियो ।

सरकारले प्रधानमन्त्री कृषि परियोजनाबाट दुई र खाद्य प्रविधिअन्तर्गत दुई गरी चार वटा भ्यान खरिद गर्ने निर्णय गरेको थियो ।

खाद्यले स्वदेशी प्रुडेन्ट कम्पनीसँग छ महिनाको म्याद दिएर जेठ महिनामा सम्झौता गरेको थियो । सम्झौता भएको दुई वर्ष बित्दा पनि हस्तान्तरण हुन नसकेपछि भ्यानमा अनियमितता देखिएको हो ।

खाद्य प्रविधि विभागका अनुसार, ‘जुन उद्देश्यका लागि खरिद गर्ने निर्णय भयो, त्यसरी चल्नै सकेन,’ ‘दुई वर्षदेखि हस्तान्तरण भएको छैन । ठेक्का पारेको संस्थाले आधिकारिक रूपमा दिएको छैन ।’

महालेखा परीक्षकको प्रतिवेदनले पनि भ्यान खरिद प्रक्रिया नियमसंगत नभएको जनाएको छ । यता प्रधानमन्त्री कृषि परियोजना र खाद्य प्रविधिले भने प्रतिस्पर्धाबिना नै खरिद प्रक्रिया अघि बढाएको उल्लेख छ ।