१२ मंसिर २०८१, बुधबार
यामाहा एक्सटीजेड १२५ सार्वजनिक भएको छ। नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ अफरोड मोटरसाइकल नेपालीमाझ ल्याएको हो।
‘मेक योर ओन रोड’ अर्थात् ‘आफ्नो बाटो आफैं बनाउनुस्’ नारा सहित सार्वजनिक गरिएको एक्सटीजेड १२५ पहिलो पटक नाडा अटो सोको पछिल्लो संस्करणमा प्रदर्शन गरिएको थियो। नेपाली बजारमा यस मोटरसाइकलको मूल्य तीन लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ।
नयाँ मोटरसाइकलले नेपाली बजारमा यामाहाको अफरोड मोटरसाइकलको मागलाई सम्बोधन गर्ने कम्पनीले दाबी गरेको छ। यामाहा एक्सटीजेड १२५ मा १ सय २४ सीसीको एअरकुल्ड, फोर स्ट्रोक, सिंगल सिलिन्डर (एसओएचसी) इन्जिन रहेको छ जसले ७ हजार ५ सय आरपीएमा अधिकतम १०.२ पीएस पावर र ५ हजार ५ सय आरपीएममा अधिकतम ९.९ एनएम टर्क उत्पन्न गर्छ।
यो कार्बुरेटेड मोटरसाइकलमा ५ स्पिडको गियर बक्स र एयर कलिङ सिस्टम र इलेक्ट्रिक तथा किक स्टार्ट उपलब्ध छ । एक्सटीजेड १२५ मा १०.६ लिटरको फ्युल ट्यांक छ जसले गर्दा लामो अफरोड यात्रामा निस्कन सहज बनाउँछ। नयाँ एक्सटीजेड ब्लु, ब्ल्याक र ह्वाइट गरी तीन आकर्षक रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
१ सय १८ केजी वजन भएको एक्सटीजेड १२५ को ग्राउन्ड क्लेरेन्स २ सय ६० एमएम छ जसले ढुंगा, खोला र अफरोड बाटोको यात्रालाई अझ सहज र रोमाञ्चक बनाइदिन्छ । त्यसैगरी, सिट हाइट ८ सय ४० एमएम रहेको छ। यसको अगाडि टेलिस्कोपिक सस्पेन्सन छ भने पछाडि मानोक्रस सस्पेन्सन रहको छ । अगाडिको ह्विल २१ इन्चको छ भने पछाडिको १८ इन्चको रहेको छ। दुबै ह्विलमा स्पोक एरेन्जमेन्ट रहेको छ जसले अफरोड यात्रालाई आरामदायी बनाइदिन्छ।
एक्सटीजेड १२५ मा सेमी–रग्ड टायर, हेलोजिन हेडल्याम्प, फ्रन्ट डिस्क ब्रेक र स्पोर्टी ग्राफिक्ससहितको प्लास्टिक प्यानेल रहेका छन् । साथै, यसमा अन्डरसाइड कभर रहेको छ जसले इन्जिनलाई बाह्य क्षति हुनबाट बचाउँछ। राइडरको सहजताका लागि यसमा स्पिडोमिटर र ट्रिप मिटरसहितको इन्स्ट्र्युमेन्ट प्यानल, चौडा र बाक्लो कुसन सिट र पछाडि कार्गो बक्स वा अन्य सामान बोक्न मिल्ने गरी बलियो क्यारियर पनि जडान गरिएको छ।