खानेपानी मन्त्री र कतारी राजदूतबीच भेटवार्ताः नेपालको पानी निर्यात गर्ने विषयमा छलफल

होमल्याण्ड खबर

२०७५ चैत्र १९ गते, मंगलवार १६:५० मा प्रकाशित

खानेपानी मन्त्री बिना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच भेटवार्ता भएको छ ।

मंगलबार खानेपानी मन्त्रालय सिंहदरबारमा मन्त्री र राजदूतबीच भेटवार्ता भएको हो ।

उक्त भेटघाटमा खानेपानी मन्त्री र राजदूतबीच नेपालबाट पिउने पानी निर्यात गर्ने विषयमा महत्वपूर्ण छलफल भएको बताइएको छ ।

भेटवार्तापछि मन्त्री मगरले भनिन्, ‘पानीको स्रोतको सदुपयोग गरेर स्प्रिङ वाटर निर्यात गर्ने विषयमा मेरो ध्यान बढी केन्द्रित छ । कतार सरकारसँग सहकार्य गरेर अघि बढ्न पाए अझ राम्रो हुन्थ्यो । म एकदम उत्साहित छु ।’

स्प्रिङ वाटर निर्यात गर्ने विषयमा दुवै देशका प्रतिनिधिहरुबीच थप छलफल गरेर अघि बढ्ने उनले बताइन् ।

सो भेटघाटमा मन्त्री मगरले नेपाल र कतार सरकारबीच समझदारी गर्ने विषयमा प्रक्रिया अघि बढाउन खानेपानी विभागका महानिर्देशकलाई निर्देशन समेत दिएकी थिइन् ।

सोही भेटघाटमा सहभागी भएका विभागका महानिर्देशक सुनिलकुमार दासले स्प्रिङ वाटर निर्यात गर्ने विषयमा विभागले अब छिटै विस्तृत अध्ययन अगाडि बढाउने र दुवै देशबीच सम्झौताको मस्यौदा तयार पार्ने बताए।

नेपालका लागि कतारका राजदूत अल हेलले नेपालको पानी सफा र स्वच्छ रहेकाले यसको बजार कतारमा राम्रो रहेको बताए। उहाँले भने, ‘कतारलाई ग्यास र तेलको अभाव छैन तर शुद्ध पिउने पानीको भने समस्या छ । भोलिका दिनमा पानीको समस्या आउने हामीलाई चिन्ता छ । त्यसैले नेपालको पानी कतारमा लैजाने विषयमा दुवै देशका सरकारबीच समझदारी गर्नु अति आवश्यक छ ।’

नेपालबाट पानी निर्यात गर्ने विषयमा थप छलफल गरिसकेपछि सहमतिमा हस्ताक्षर गर्न कतार सरकार तयार रहेको समेत बताइएको छ ।