१३ मंसिर २०८१, बिहीबार
बाराको फेटा गाउँपालिका–३ पुरैनियाटोलका २८ वर्षीय फैयाज आलमले चार लाख खर्चेर गत वर्ष मात्रै घर ठड्याएका थिए । ६ वर्ष कतारमा मजदुरी गरेको कमाइको उपलब्धि थियो, घर । तर, आइतबार मडारिएको हावाहुरीले क्षणभरमै उडाइदियो, घरमा रहेका खाद्य सामग्री, लत्ताकपडा र भाँडावर्तन सबै स्वाहा पारिदियो ।
मंगलबार दिउँसो ध्वस्त बस्तीनजिकै पालमुनि भेटिएका फैयाजले भग्नावशेषमा बदलिएको घरतिर नियाल्दै नयाँ पत्रिकासँग पीडा बिसाए, ‘खेत थोरै छ । कमाइले खान पुग्दैन । त्यसैले ६ वर्ष कतार बसें । थोरैथोरै जोगाउँदै जम्मा गरेको चार लाखले गत वर्ष घर बनाएँ । परिवारका सदस्यलाई केही महिनाअघि मात्रै नयाँ घरमा सारेको थिएँ ।
मन खोलेर बस्न नपाउँदै हुरीले जगसमेत नछोडी उडाइदियो । भएको अलिअलि अन्न र लत्ताकपडा पनि स्वाहा पारिदियो । अब के खाने, कहाँ बस्ने ठेगान छैन ।’ फैयाजको परिवारमा तीन सदस्य गम्भीर घाइते भएका छन्, आमा मोबिना खातुन, श्रीमती विस्मिता र बहिनी स्नेह ।
फेटा–६ पुरैनियाका वमिर रहमद देवान उमेरले ६० वर्षका भए । तर, उनको काँधमा २६ सदस्यीय संयुक्त परिवारको जीवन निर्वाह धान्ने जिम्मेवारी छ । खेती गर्ने जमिन नभए पनि खसी काट्दै मासु बेचेर निर्वाह चलाउँदै आएका उनले टाली (झिँगटी)ले छाएको घर पनि उभ्याएका थिए । तर, आइतबारको हुरीमा वमिरको घर पनि जोगिएन । यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।